काठमाडौं : नेपालीले सञ्चालन गर्ने पानी जहाजमा नेपाली झन्डा अनिवार्य राख्नुपर्ने गरी कानुन बनाइँदैछ ।
सरकारले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरेको हो । हाल यो विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा छ । विधेयकमा झन्डा राख्नु पर्ने व्यवस्था अनिवार्य छ ।
ऐन बमोजिम दर्ता भएको प्रत्येक व्यापारिक पानीजहाजमा नेपालको झन्डा राखु पर्ने र पानीजहाजमा राखिने झन्डाको आकार, स्वरूप तथा प्रकृति सम्बन्धी व्यवस्था राखिएको छ ।
झन्डा राष्ट्रियताको चिन्हको रुपमा प्रयोग गर्नुपर्ने भनिएको छ ।
व्यापारिक पानीजहाजको झन्डा त्यस्तो जहाजको राष्ट्रियताको चिन्ह हुने र झन्डाले पानीजहाजलाई विदेशी बन्दरगाह वा समुद्रमा रहँदा अन्तर्राष्ट्रिय महासन्धि बमोजिमको सुविधा तथा सम्मानको अधिकार प्राप्त हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
विधेयकको दफा ४७ मा झन्डाको प्रयोग सम्बन्धी व्यवस्था छ । जसले पानीजहाजले पानीजहाजको पछिल्लो भाग ९स्टर्न० मा रहेको ध्वज दण्ड ९फ्लैग स्टाफ० वा पछिल्लो मस्तुल ९अफ्टर मोष्ट माष्ट० मा झन्डा फहराउनु पर्ने भनिएको छ । यस्तो व्यवस्थालाई कर्तव्यको पालना गर्नु पर्ने व्यवस्था अन्तर्गत राखिएको छ ।
विधायन समितिमा विचाराधीन विधेयक पास भएपछि राष्ट्रिय सभामा पेस हुन्छ । राष्ट्रिय सभाले पारित गरेपछि प्रतिनिधि सभामा पुग्छ ।
प्रतिनिधि सभाले पारित गरेपछि पुनः राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाको अध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुन्छ ।
यो विधेयक ऐनमा रुपान्तरित भएपछि नेपालीले विदेशका समुन्द्रमा समेत पानी जहाज सञ्जालन गर्न सक्नेछन् । त्यसका लागि सरकारले पहल लिने लगायतका व्यवस्था प्रस्तावित छन् ।
नेपालीले विदेशका समुन्द्रमा पानी जहाज सञ्जालन गर्दा नेपालको कानुन समेत मान्नुपर्ने हुन्छ । अन्यथा, विदेशमा रहेको भएता पनि नेपालको कानुन अनुसार कारबाही हुन सक्ने गरी सरकारले ऐन बनाउन लागेको हो ।