भारत र पाकिस्तानबीच आज (सोमबार) वार्ता हुँदैछ । दुबै देशका सेनाका अधिकारीहरूबीच मध्यान्ह १२ बजे वार्ता हुने बताइएको छ ।
दुई छिमेकी देशबीच केवल सैनिक अधिकारी स्तरमा वार्ता हुने भारतको सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख । ‘भारतले पाकिस्तानसँग डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन्स (डीजीएमओ) स्तरमा मात्र संवाद गर्ने निर्णय गरेको छ । कश्मीर मुद्दा वा इन्डस जल सन्धिजस्ता विषयमा कुनै पनि प्रकारको वार्ता हुने छैन । भारत सरकारका निकट स्रोतहरूले आइतबार जानकारी दिएका छन्,’ समाचारमा भनिएको छ ।
यद्यपि आजको वार्तामा संघर्षविरामका शर्त र भविष्यका रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ । भारतले यस वार्तालाई द्विपक्षीय सैन्य संवादको हिस्सा भनेको छ र तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले कश्मीरबारे मध्यस्थता र भारत–पाकिस्तानबीच तटस्थ स्थलमा वार्ताको प्रस्ताव राखे पनि भारतले ती सुझावहरूलाई पूर्णरुपमा अस्वीकार गरेको हो ।
यसबीच, स्रोतहरूले अमेरिकाले ‘युद्धविराम सम्झौता गराएको’ भन्ने दाबीसमेत खारेज गर्दै भनेका छन्, ‘शनिबारको सहमति भारत र पाकिस्तानबीच सिधा संवादबाट भएको हो ।’ यस सहमतिअनुसार स्थल, आकाश र समुद्र गरी तीनै स्थानमा सबै प्रकारको गोलीबारी र सैन्य कारबाही तत्काल रोकिने भन्ने छ ।
गत चैत ९ गते जम्मू–कश्मीरको पहलगाममा आतंककारीले हिन्दू धर्मावलम्बी पर्यटकलाई लक्षित गरी २६ जनाको हत्या गरेका थिए । त्यसमा नेपालका सुदीप न्यौपाने पनि मारिएका थिए ।
त्यसयता १५ दिनपछि भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको थियो । केही दिनदेखि दुबै पक्षले ड्रोन, मिसाइल र लामोदूरीका हतियार प्रयोग गर्दै एक–अर्काको सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेका थिए । चार दिनसम्म चलेको यस द्वन्द्वपछि शनिबार दिउँसो भारत र पाकिस्तानका सैनिक अधिकारीबीच भएको संवादमा सबै प्रकारका सैन्य कारबाही रोक्ने सहमति भएको थियो ।
दुबै देशका सैनिक अधिकारीले फेरि आज दिउँसो १२ बजे हटलाइनमार्फत कुराकानी गर्ने तय गरेका छन् ।