रौतहट, २९ वैशाख — रौतहटका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले आफू कुनै राजनीतिक पहुँच वा सिफारिसका भरमा नभई नियमित प्रशासनिक प्रक्रियामार्फत रौतहट आएको स्पष्ट पारेका छन्। जिल्ला प्रहरी कार्यालयले सोमबार आयोजना गरेको एक परिचयात्मक कार्यक्रममा उनले भने, “म कसैको सोर्समा आएको हैन। यदि रौतहट आउने कुरा हैनथ्यो भने म महोत्तरी वा सर्लाही जान्थेँ।”
पत्रकारहरूको जिज्ञासामा जवाफ दिँदै एसपी गिरीले अपराध नियन्त्रण, शान्ति सुरक्षाको स्थापना तथा पीडितलाई न्याय दिलाउन आफू पूर्णरूपमा प्रतिबद्ध रहेको बताए। “पीडितलाई अन्याय हुन दिन्न। कसैलाई दुःख दिने मेरो उद्देश्य छैन। निर्दोषलाई दुःख दिने काम नगरौँ,” उनले स्पष्टसँग जनाए।
गिरीले प्रहरी प्रशासनप्रति जनविश्वास बढाउने गरी निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले काम गर्ने उल्लेख गर्दै भने, “प्रहरी जनताको सेवक हो। कानुनअनुसार सबैलाई समान व्यवहार गरिनेछ। मेरो नेतृत्वमा प्रहरी संगठन जनहितमा काम गर्नेछ।”
पछिल्ला समय रौतहटमा शान्ति सुरक्षासम्बन्धी चासो बढिरहेको अवस्थामा एसपी गिरीको आगमनलाई नागरिक समाजले स्वागतयोग्य मानेको छ। अपराध नियन्त्रण तथा न्यायप्रणालीप्रति जनआस्था पुनः स्थापित गर्न उनले देखाएको दृढता सकारात्मक रूपमा लिइएको छ।
एसपी गिरीको स्पष्ट अभिव्यक्ति र पीडितप्रति देखिएको संवेदनशीलता रौतहटमा विधिको शासन बलियो बनाउने दिशामा प्रेरक बन्ने आशा गरिएको छ। अब उनले व्यक्त गरेका प्रतिबद्धता व्यवहारमा कसरी उतारिन्छन् भन्ने कुराले उनको नेतृत्वको प्रभाव मापन गर्नेछ।