वीरगञ्ज महानगरपालिका स्थित ऐतिहासिक तथा धार्मिक स्थल भिषवा डाँडामा मणि खोर्लो स्थापना गरिएको छ ।
दुई हजार ५६९औँ बुद्ध जयन्तीको अवसरमा बौद्ध परम्परा अनुसार भिक्षुहरूद्वारा पूजा–अर्चना गरी स्थापना गरिएको मणि खोर्लो (प्रार्थना चक्र) को अनावरण वीरगञ्ज महानगरका नगर प्रमुख राजेशमान सिंहले गर्नु भएको हो। कार्यक्रममा प्रमुख सिंहले वीरगञ्जमा यस्तो धार्मिक संरचनाको स्थापना हुनुलाई गौरवको विषय बताउँदै यसले स्थानीय धार्मिक पर्यटनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे।

“मणि खोर्लो जस्तो पवित्र बौद्ध संरचना वीरगञ्जमा पहिलोपटक स्थापना हुनु महत्त्वपूर्ण उपलब्धि हो,” प्रमुख सिंहले भने, “यसले न केवल धार्मिक आस्था प्रवद्र्धन गर्छ, यसले हाम्रो सहरको पर्यटन व्यवसायमा समेत वृद्धि ल्याउनेछ।”
वीरगञ्ज बौद्ध समितीका महासचिव अधिवक्ता सुन्दर श्रेष्ठका अनुसार त्रिसंयोगको विशेष अवसरलाई ध्यानमा राखी यसपटक कार्यक्रमलाई थप व्यापक र भव्य रूपमा आयोजना गरिएको हो।

स्थानीय बौद्ध अनुयायीहरू र भिक्षुहरूको विशेष सहभागिता रहेको कार्यक्रममा बुद्ध जयन्तीको अवसरमा विशेष पूजा, मन्त्रोच्चारण तथा ध्यान कार्यक्रमहरू पनि आयोजित गरिएको थियो।

भिषवा डाँडालाई बौद्ध धार्मिक र सांस्कृतिक गन्तव्यको रूपमा विकास गर्ने उद्देश्य सहित स्थापना गरिएको मणि खोर्लो भविष्यमा स्थानीय र विदेशी पर्यटकलाई आकर्षण गर्ने केन्द्र बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको अध्यक्षता वीरगञ्ज बौद्ध समितीका अध्यक्ष प्रा.डा. दीपक शाक्यले गर्नुभएको थियो। बुद्ध विहार तथा गुम्बामा लामागुरुहरूले विशेष पूजा, मन्त्रपाठ तथा ध्यान कार्यक्रम संचालन गरेका थिए।