निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) वीरगन्ज महानगर समितिको आयोजनामा छात्रवृत्ति परीक्षा २०८२ शनिबार वीरगन्ज–१३ स्थित एस. आर. ग्यालेक्सी एकेडेमीमा सफलतापूर्वक सम्पन्न भएको छ।
कक्षा ११ र १२ मा भर्ना हुन चाहने, एसईई उत्तीर्ण ३०० भन्दा बढी विद्यार्थीहरूले उक्त परीक्षा दिएका थिए। बिहान १० बजेबाट सुरु भएको परीक्षा उत्साहजनक र व्यवस्थित रूपमा सञ्चालन भएको आयोजकले जनाएको छ।
परीक्षामा सहभागी अधिकांश विद्यार्थीहरू आफ्नो उज्जवल भविष्यप्रति आशावादी देखिएका थिए। वीरगन्जकी विद्यार्थी अञ्जली साहले भने, “यो परीक्षा मलाई छात्रवृत्ति प्राप्त गर्ने सुनौलो अवसर जस्तो लाग्छ। तयारी राम्रो भएकाले म आत्मविश्वासी छु।” अर्का विद्यार्थी सन्देश यादवले भने, “प्याब्सनको यस्तो कार्यक्रमले हामीलाई ठूलो हौसला दिएको छ।”
कार्यक्रम प्याब्सन नगर समिति र जिल्ला समिति पर्साको संयुक्त समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक तथा अन्य पदाधिकारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
अध्यक्ष श्रीवास्तवले भने, “हामी प्रत्येक वर्ष छात्रवृत्ति परीक्षामार्फत मेधावी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिन चाहन्छौं। शिक्षा केवल पहुँचको विषय होइन, अवसरको विषय हो, र हामी त्यो अवसर सिर्जना गरिरहेका छौं।”
सचिव अमित आलोकले भने, “विद्यार्थीहरूको जोश देखेर खुसी लाग्यो। छात्रवृत्ति प्रदान गर्ने यो एउटा पारदर्शी प्रक्रिया हो जसले आर्थिक रुपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई मद्दत पुर्याउँछ।”
प्याब्सनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्दै विद्यार्थीहरूलाई शिक्षामा प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।