रौतहट: रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसादसँग नेपाल र भारत दुवै देशको नागरिकता भएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीपछि गत ७ साउनमा जिल्ला प्रशासन कार्यालय रौतहटले खुलेपछि छानबिन समेत सुरु गरेको छ।
प्रशासन कार्यालयले वडाध्यक्ष रामानन्दलाई कार्यालयमा बोलाएर बयान लिएको छ। रामानन्दसँग नेपालसहित भारतको बिहार पूर्वी चम्पारनको पनि नागरिकता रहेको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए। रामानन्दले भारत बिहारको पूर्वी चम्परानबाट पप्पु यादवका नाममा नागरिकता लिएका छन् भने सोही नागरिकताबाट उनले भारतको निर्वाचन आयोगसँग मतदाता परिचयपत्र समेत लिइसकेको खुल्नमा आएको छ।
परिचयपत्रमा उनले बुवाको नाम सियारामप्रसाद यादव उल्लेख गरेका छन् भने २३ मार्च २००९ मा जारी भएको मतदाता परिचयपत्रमा जन्ममितिसन १९८२ उल्लेख गराएका छन्। परिचयपत्रमा उल्लेख भएअनुसार उनको ठेगाना ‘परेवा सहररगाँव–परेई, अञ्चल–चिरैया, जिल्ला– पूर्वी चम्पारन– ८४५४१८ उल्लेख छ। मतदाता परिचयपत्र नम्बर भने वाइडब्लुएक्स ०११५०३१ रहेको छ।
नेपालमा भने उनले रौतहटबाट नागरिकता लिएका छन्। जसमा उनको पिताको नाम रामचन्द्र कापड यादव उल्लेख छ। २०४७ जेठ २३ मा जिल्ला प्रशासन कार्यालय रौतहटबाट जारी उनको नागरिकता नम्बर ३२० र ठेगाना पञ्चरुखी गाविस(३ लेखिएको छ। उनले सोही नागरिकताबाट आफ्नो मतदाता परिचयपत्र पनि लिएका छन्। जसमा उनको नाम रामानन्द प्रसाद लेखिएको छ भने पिताको नाम रामचन्द्र कापड र आमाको नाम कान्ति देवी लेखिएको छ।
‘नेपालको नागरिकता र भारतको मतदाता परिचयपत्रमा एउटै फोटो प्रयोग भएको छ। जसमध्ये नागरिकतामा टाँसिएको फोटो भारतीय मतदाता परिचयपत्रमा टाँसिएको फोटोसँग मेल खान्छ,’ प्रजिअ अधिकारीले भने। छानबिन प्रक्रियामा नेपालस्थित भारतीय दूतावाससँग पनि पत्राचार गरिएको छ, रामानन्दविरुद्ध दुई महिनाअघि अख्तियारमा उजुरी परेको थियो र उक्त उजुरी गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय पठाइएको थियो।’
यता वडाध्यक्ष रामानन्दले भने छानबिनका क्रममा बयान दिएको स्वीकार गर्दै आफ्नो पुस्तौँपुस्ता नेपाली नागरिक भएको र आफूले दोहोरो नागरिकता नलिएको दाबी गरेका छन्।