वीरगञ्ज । सत्तारुढ दलहरू नेपाली काँग्रेस र नेकपा (एमाले) ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन महाअभियोग प्रस्ताव ल्याउने तयारी तीव्र पारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित राना मगरलाई आचरणसम्बन्धी प्रश्न उठाउँदै पदबाट हटाउन दुवै दलले आ-आफ्नो संसदीय दलमा छलफल सुरु गरेका छन् ।
मङ्गलवार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकमा उपसभामुख हटाउने विषयमा छलफल केन्द्रित रहेको एक नेताले जानकारी दिए । काँग्रेसले आफ्ना सांसदहरूलाई मङ्गलवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारस्थित संसदीय दलमा उपस्थित हुन निर्देशन दिएको छ । “बैठक उपसभामुखलाई हटाउने विषयमा केन्द्रित छ भन्ने बुझिएको छ,” बैठकमा सहभागी एक सांसदले भने ।
यस्तै, नेकपा (एमाले) ले पनि मङ्गलवार आकस्मिक संसदीय दलको बैठक बोलाएर महाअभियोग प्रस्तावका लागि हस्ताक्षर सङ्कलनको तयारी गरेको छ । एमाले सांसद ठाकुर गैरेले बैठक बोलाइएको जानकारी पाए पनि विषय स्पष्ट नभएको बताए । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सांसदहरूसँग यस विषयमा छलफल गर्दै छन् ।
स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्ध सुमधुर हुन नसकेपछि सत्तारुढ दलहरू उपसभामुख रानालाई हटाउने निर्णयमा पुगेका हुन् । यसअघि राना मगर अमेरिकी दूतावासमा भिसा अन्तर्वार्ताको समय सार्न आग्रह गर्दै पत्र लेखेको विषय सार्वजनिक भएपछि विवादमा तानिएकी थिइन् । त्यस बेला काँग्रेस र एमालेका सांसदहरूले उनलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेका थिए । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा समेत उनविरुद्ध उजुरी परेको थियो ।
उपसभामुख हटाउन प्रतिनिधि सभाको दुई तिहाइ बहुमत आवश्यक पर्छ, जुन २७५ सदस्यीय सदनमा १८४ सांसद हो । काँग्रेस (८८ सांसद), एमाले (७८), जनता समाजवादी (७) र लोकतान्त्रिक समाजवादी (४) को मत जोड्दा दुई तिहाइ पुग्दैन । त्यसैले सत्तारुढ दलहरूले नेकपा (एकीकृत समाजवादी) को समर्थन खोज्ने तयारी गरेका छन् । नेकपा एसका प्रतिनिधि सभामा १० सांसद छन् । यद्यपि, एकीकृत समाजवादीका प्रवक्ता प्रकाश ज्वालाले यस विषयमा कुनै कुराकानी नभएको र सत्ता पक्षलाई आफूहरूको आवश्यकता नरहेको बताए ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ । ६ सदस्यीय परिषद्मा सत्ता र प्रतिपक्ष बराबर हुँदा प्रमुख आयुक्तलगायत संवैधानिक नियुक्तिहरू हुन सकेका छैनन् । काँग्रेसले उपसभामुख पदमा दाबी गर्दै आएको छ । नेताहरूले राज्य व्यवस्था तथा सुशासन समिति एमालेलाई छाडेर उपसभामुख पद आफूहरूले लिने बताएका छन् ।
इन्दिरा राना मगर रास्वपाबाट निर्वाचित सांसद हुन् । नेकपा (माओवादी केन्द्र), एमाले र रास्वपालगायतको सत्ता गठबन्धन हुँदा उनी उपसभामुख बनेकी थिइन् । तर, हाल रास्वपा सभापति लामिछानेसँगको तिक्ततापूर्ण सम्बन्ध र आचरणसम्बन्धी विवादले उनको पद धरापमा परेको छ ।