नेपाल खानेपानी संस्थानले उपलब्ध गराएको पानीबाटै वीरगंजमा हैजा संक्रमण फैलिएको पाइएको छ। संक्रमितमध्ये अधिकांशले संस्थानको धाराको पानी सेवन गरेका थिए।
स्थानीय स्वास्थ्य अधिकारीका अनुसार, पानी पाइप फुटेर नालाको पानी मिसिएको पुष्टि भएको छ। खानेपानी र ढल एउटै पाइपलाइनमा जडान गरिएको, जथाभावी डिप बोरिङ र नालासँगै पाइप जडान भएका कारण महामारी फैलिएको हो।
हिजो, खानेपानी मन्त्री प्रदीप यादवसहित प्राविधिक टोली वीरगञ्जका विभिन्न वडामा पानी परीक्षणका लागि पुगेका थिए। अहिले खानेपानी तथा ढल व्यवस्थापन विभागले ‘पियुष’ लगायतका पानी शुद्धीकरण सामग्रीसहित मोबाइल टोली परिचालन गरेको छ। टोली प्रभावित क्षेत्रमा पानी परीक्षण र शुद्धीकरणमा संलग्न छ।
दूषित खानेकुरा र पानीका कारण हैजा तीव्र रूपमा फैलिँदा वीरगञ्जका अस्पतालमा बिरामीको चाप असामान्य रूपमा बढेको छ। अहिलेसम्म ७१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ भने कतिपय अस्पतालबाट परीक्षण रिपोर्ट आउन बाँकी छ।
नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार, हैजा पुष्टि भएका बिरामीभन्दा दोब्बर झाडापखालाका बिरामी भर्ना भएका छन्। बेड नपुग्दा बिरामीलाई बरन्डाको भुइँमा राखेर उपचार गरिंदैछ।
यसैबीच, पर्सा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले आवश्यक स्वास्थ्यकर्मीलाई केन्द्रिकृत स्वास्थ्य संस्थामा खटाउन सकिने व्यवस्था मिलाएको छ।
बैठकमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहको पनि उपस्थिति थियो। कार्कीले झाडापखाला र हैजा रोकथामका लागि माइकिङ, घरदैलो र सचेतना जागरण तुरुन्तै सञ्चालन गर्ने निर्णय सुनाएका छन्।
साथै, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त अतिरिक्त जनशक्ति र स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति मार्फत वितरण, व्यवस्थापन र अनुगमन गरिनेछ। महामारीको ‘स्रोत पहिचान’ सम्बन्धी अनुसन्धान स्थानीय तहले गर्नेछ भने आवश्यक प्राविधिक सहयोग प्रदेश र सङ्घीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउनेछ।