काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशनको आज दोस्रो पनि जारी रहेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जारी महाधिवेशनको आज दोस्रो दिन शुक्रबार पेश गर्न बाँकी रहेका प्रतिवेदनको प्रस्तुतीकरण हुने छ । बिहान ८ बजेदेखि सुरु हुने महाधिवेशनमा आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसपश्चात स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत समेत पेश गर्ने कार्यतालिका छ।
शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
उनका अनुसार आजै प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल हुने उनले बताए । समूह छलफलका लागि पार्टीले प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह तोकेको छ। कोशी, सुदूरपश्चिम, मधेस, कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गर्नेछन्। त्यसै गरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवासमा संलग्न प्रतिनिधिहरूको छुट्टै समूह बनाइएको छ। यस्तै केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचनालाई समेटेर अर्को समूह तोकिएको छ भने केन्द्रीय निकाय आयोजकहरूलाई सुझाव दिने मात्र उद्देश्यका लागि छुट्टै समूहमा राखिएको छ।
यी समूहहरूले आ(आफ्नो क्षेत्र, संगठन र जिम्मेवारीअनुसार राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रतिवेदनका विषयमा गहिरो छलफल गर्नेछन्। छलफलमा आएका निष्कर्षहरू आइतबारको सत्रमा प्रस्तुत भएपछि प्रतिवेदन प्रस्तोताहरूले स्पष्टीकरण दिने र त्यसपछि महाधिवेशनको निर्णयमा रूपान्तरण गर्ने तयारी गरिएको छ। महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।
विधान महाधिधिवेशनमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा ‘नेपाली समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा सामञ्जस्यसाथ अगाडि बढाइने’ उल्लेख गरेका छ। ‘एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्धन गरिनेछ,’ ओलीले प्रतिवेदनमा भनेका छन्,‘विश्व कम्युनिस्ट आन्दोलन र समाजवादी प्रणालीहरूका अनुभवहरूलाई ध्यानमा राख्दै कम्युनिस्ट पार्टीलाई निरन्तर जनताका बीचमा स्थापित गर्ने, जनताको सुखदुःखको साथी र सच्चा प्रतिनिधिका रूपमा यसको चरित्रलाई अक्षुण्ण राख्ने, राज्यको नेतृत्व गरिरहँदा उत्पन्न हुन सक्ने भ्रष्टाचार र नोकरसाहीको जोखिमबाट बचाउन निरन्तर शुद्धीकरण गरिनेछ।’
राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास समाजवादका अनिवार्य कार्यभार हुने प्रतिवेदनमा छ। ‘एमाले परिपूर्ण लोकतन्त्रको पक्षमा छ। प्रतिवेदनमा भनिएको छ,‘हामी यस्तो लोकतन्त्रको पक्षमा छौं, जहाँ आमनागरिकलाई अधिकार बराबर हुनेछ। अवसरमा पहुँच समान हुनेछ। सुरक्षा र सम्मानमा बराबरी हक हुनेछ। राज्य साँचो अर्थमा जनताको हुनेछ। राज्यका उपलब्धिमा जनताको हक हुनेछ।’
एमाले अध्यक्ष ओलीले मुलुकमा दुईथरी राजनीति धार रहेको विश्लेषण गरेका छन्। संगठित राजनीतिक गतिविधि सुरु भएदेखि नै राष्ट्रिय शक्ति र आत्मसमर्पणवादी शक्ति गरी दुईथरी धारका बीचमा निरन्तर प्रतिस्पर्धा रहँदै आएको ओलीले प्रतिवेदनमा जनाएका छन्।
केन्द्रीय समिति घटाइयो
एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भएको छ। प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा ३ सय १ सदस्यीय कमिटीलाई घटाएर २ सय ५१ कायम गरिएको हो।
उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा १५ जना पदाधिकारी हुने व्यवस्थालाई अघि सारिएको छ। प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ। त्यस्तै, दुई कार्यकाल मात्र अध्यक्ष हुने व्यवस्थालाई पनि हटाउने प्रस्ताव गरिएको छ।
प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्थालाई हटाइएको छ भने ६ उपाध्यक्षको संख्यालाई घटाएर ३ मा झारिएको छ। प्रस्तावअनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ सतिह १५ जना पदाधिकारी रहने गरी प्रस्ताव गरिएको छ। पदाधिकारीमा महिला एकजना अनिवार्य गरिएको छ।
स्थायी कमिटी र पोलिटब्युरो सदस्यको संख्या पनि घटाइएको छ। ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रूपमा राख्ने प्रस्ताव गरिएको छ। ९९ सदस्यीय पोलिटब्युरोको संख्या घटाएर केन्द्रीय कमिटीको बढिमा एक तिहाइ रहने व्यवस्था गरिएको छ । त्यस्तै, सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षे उमेर हदको व्यवस्थालाई हटाउने प्रस्ताव अघि सारिएको छ।