काठमाडौं : कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा असोजको तुलनामा कात्तिकमा ब्याजदर घटेको हो ।
असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२६३ प्रतिशत विन्दुले घटेको छ । असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.४६३५ प्रतिशत रहेकोमा कात्तिक महिनाका लागि ५.२००५ प्रतिशत कायम भएको छ ।
व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमई र हिमालयन बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेका हुन् ।
असोजको तुलनामा कात्तिकमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे एनआईसी एसिया, प्रभु, स्टान्डर्ड चार्टर्ड, नबिल, प्राइम कमर्सियल, सानिमा, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स छन् ।
६ बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर स्थिर राखेका छन् । स्थिर राखेका बैंकमा नेपाल, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, कुमारी र हिमालयन छन् । कुनै पनि वाणिज्य बैंकले ब्याजदर असोजको तुलनामा कात्तिकका बढाएका छैनन्।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ ।
बैंकहरुका लगानीयोग्य रकम पर्याप्त रहेको अवस्थामा कर्जा प्रवाहको वृद्धि पनि सुस्त रहेपछि बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन् । राष्ट्र बैंकले छोटो अवधिका लागि निक्षेप बोलकबोलमार्फत तरलता खिचिरहेको छ ।
हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २।७५ प्रतिशत छ ।