सूर्य उपासनाको महापर्व छठ आजबाट विधिवत् सुरू भएको छ। तराई–मधेसका गाउँदेखि सहरसम्म यस पर्वको उल्लास र भक्ति झल्किने वातावरण बनेको छ। कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट छठको प्रारम्भ हुने परम्परा अनुरूप आज व्रतालुहरूले पवित्र स्नान गरी शाकाहारी भोजन ग्रहण गर्दै व्रत सङ्कल्प लिएका छन्।
तराई–मधेसका धार्मिक महत्व बोकेका पोखरी, तलाउ र नदीघाटहरू आकर्षक सजावटले झलमल्ल छन्। छठ गीत र भजनले बस्तीहरू गुन्जिएका छन् भने घर–घरमा पूजा सामग्री जुटाउने र परिकार तयार पार्ने चहलपहल बढेको छ।
कार्तिक शुक्ल तृतीयादेखि नै मांसाहार त्यागी ‘अरबा–अरबाइन’ विधिबाट छठको तयारी थाल्ने परम्परा छ। महिलाहरू प्रमुख व्रतालु भए पनि पुरुषहरूको सहभागिता पनि पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको देखिन्छ।
ठकुवा, भुसुवा, ढिकी–जाँतोमा कुटिएको अन्नबाट बनाइने अन्य मिष्टान्न परिकार तथा नयाँ चुलो निर्माण छठको विशेषता हो। सूर्य आराधनासँग सम्बन्धित उखु, बेसार, अदुवा, बिमिरो तथा अन्य कृषि उपजको बजारमा विशेष माग बढेको छ।
भोलि ‘खरना’ विधि सम्पन्न गरिनेछ। यसदिन दिनभरि निराहार बसेर राति गुड र दूधमा पकाइएको खीर छठी देवीलाई अर्पण गरिन्छ। शनिबार साँझ जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने ‘साँझिया घाट’ हुनेछ भने आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी ‘भोरे घाट’ सम्पन्न गरिनेछ।
छठ पर्वलाई परिवार, समुदाय र प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने महान् पर्व मानिन्छ। एक समय मात्र तराई–मधेसमा सीमित यस आस्थाको पर्व आज देशभर साझा सांस्कृतिक पहिचान बन्दै गएको छ।
यसै कारण आज मधेसका बजारदेखि घाटसम्म श्रद्धा, भक्ति र उत्साहको उज्यालो छरिएको छ।