जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र” को नवनिर्मित भवन उद्घाटन गरिएको छ । करीब दुई करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको उक्त भवनको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेका हुन् ।
FCDO-UK को आर्थिक सहयोग तथा UNOPS द्वारा सञ्चालित सिक्युरिटी एन्ड जस्टिस प्रोग्राम (SJP) अन्तर्गत निर्माण गरिएको उक्त भवन “महिला र बालबालिकाका लागि न्याय र संरक्षण सेवामा पहुँच सुदृढ गर्ने” उद्देश्यसहित निर्माण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पर्सा जिल्ला मुलुककै महत्वपूर्ण आर्थिक तथा राजस्व संकलन हुने नाका भएकाले यहाँको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिँदै नागरिकलाई छिटो, छरितो र विश्वासिलो सेवा दिन प्रहरी संगठन प्रतिबद्ध रहेको बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, दुर्व्यवहार तथा सामाजिक विभेदका घटनामा संवेदनशील ढंगले काम गर्नुपर्ने उल्लेख गर्दै उनले नयाँ सेवा केन्द्रले पीडितमैत्री वातावरणमा न्यायिक पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । “प्रहरी र समुदायबीच विश्वास, सहकार्य र निरन्तर संवाद कायम भए मात्रै दिगो शान्ति, सुरक्षा र सामाजिक सद्भाव सम्भव हुन्छ,” प्रहरी महानिरीक्षक कार्कीले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी भोला दाहाललगायतको उपस्थिति रहेको थियो । त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक ग्यानेन्द्र बस्नेत, राष्ट्रिय अनुसन्धान विभाग पर्साका उपअनुसन्धान निर्देशक सन्तोष ढुंगानालगायत सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।UNOPS तर्फबाट सञ्चालन संयोजक इन्द्र न्यौपाने, पूर्वाधार प्रबन्धक शिशिर उपाध्याय तथा GESI अधिकारी कृति थापाको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
यसैगरी जिल्ला सरकारी वकिल कार्यालय पर्साका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानलगायत स्थानीय अगुवा तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सोनी न्हेम्हाफुकीले गरेकी थिइन् । कार्यक्रममा प्रहरी निरीक्षकहरू निरोज चौगाई, विक्रम सुवेदी र युवराज कटवाललगायतको पनि उपस्थिति रहेको थियो ।
