वीरगञ्ज– बीरगंज महानगरपालिका–८, पानीट्याङ्कीस्थित मिनिल्यान्ड बोर्डिङ स्कुलले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ।
विद्यालयका प्रिन्सिपल सुरज बाबु पटेलका अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी भएका सबै विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएका छन्। उनले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगले यो उत्कृष्ट परिणाम सम्भव भएको बताए।
प्रिन्सिपल पटेलका अनुसार यस वर्षको नतिजामा एक छात्राले ३.९५ जीपीए प्राप्त गरेकी छन्। त्यसैगरी ३.६१ भन्दा माथि जीपीए ल्याउने ८ जना विद्यार्थी रहेका छन् भने ३.४ देखि ३.६ जीपीए ल्याउने २० जना विद्यार्थीहरू रहेका छन्।
विद्यालयले सबै उत्तीर्ण विद्यार्थीहरू तथा अभिभावकहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना समेत दिएको छ। प्रिन्सिपल पटेलले मिनिल्यान्ड प्लस टुमा अध्ययन गर्ने अवसरसमेत रहेको जानकारी दिँदै आर्थिक रूपमा कमजोर, विपन्न, दलित तथा असहाय विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको बताए। उनले विद्यार्थी तथा अभिभावकहरूलाई उक्त अवसरको भरपुर लाभ लिन आग्रह गरेका छन्।
उनका अनुसार विद्यालयमा दक्ष तथा अनुभवी शिक्षक–शिक्षिकाद्वारा गुणस्तरीय शिक्षण भइरहेको छ। “शिक्षाको गुणस्तरमा कुनै सम्झौता गरिँदैन,” भन्दै उनले विद्यालय सधैं उत्कृष्ट शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
सुविधासम्पन्न भौतिक संरचना र शान्त वातावरणमा अध्ययन अध्यापन भइरहेको उक्त विद्यालयले विगत लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको प्रिन्सिपल पटेलको भनाइ छ।
उनले थपेअनुसार, यस विद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरू अहिले सरकारी तथा निजी क्षेत्रमा सफलतापूर्वक कार्यरत छन्।
यस वर्षको एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल मिनिल्यान्ड बोर्डिङ स्कुलले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।