वीरगञ्ज– वीरगञ्जस्थित प्रतिष्ठित शैक्षिक संस्था गौतम माध्यमिक विद्यालयले पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आफ्नो संस्थाविरुद्ध फैलाइएका भ्रामक तथा एकपक्षीय सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विद्यालयले जारी गरेको सार्वजनिक वक्तव्यमा अघिल्लो शैक्षिक सत्रको बाँकी शुल्क बुझाउन अभिभावकलाई गरिएको सामान्य तथा विनम्र आग्रहलाई तोडमोड गरी संस्थाको प्रतिष्ठामाथि योजनाबद्ध आघात पुर्याइएको आरोप लगाइएको छ।
त्यसैगरी, शान्ति क्षेत्र घोषित विद्यालय परिसरभित्र अनाधिकृत व्यक्तिहरू समूह बनाएर प्रिन्सिपलको कार्यकक्षमै प्रवेश गरी अमर्यादित गतिविधि गरेको घटनालाई विद्यालयले निन्दनीय भन्दै यस्तो व्यवहार सभ्य समाजका लागि स्वीकार्य नभएको स्पष्ट पारेको छ।
विद्यालयका अनुसार समयमै शुल्क नबुझाउने तर विभिन्न निकायमार्फत अनावश्यक प्रशासनिक तथा मानसिक दबाब सिर्जना गर्ने प्रवृत्तिले संस्थामाथि आर्थिक भार बढ्दै गएको छ। नियमअनुसार छात्रवृत्ति तथा शुल्क छुटको व्यवस्था गरिए पनि केही प्रभावशाली व्यक्तिहरूले ‘सोर्स–फोर्स’ प्रयोग गरी अनुचित रूपमा दबाब दिने र माग पूरा नभएपछि सामाजिक सञ्जालमा दुष्प्रचार गर्ने गरेको विद्यालयको गुनासो छ।
विद्यालयले प्रेस स्वतन्त्रताको सम्मान गर्दै अपुष्ट तथा एकपक्षीय समाचारले हजारौं विद्यार्थीको भविष्य र शिक्षकको मनोबलमा असर पार्ने भएकाले सञ्चारमाध्यमलाई जिम्मेवार पत्रकारिताको मर्म पालना गर्न आग्रह गरेको छ।
साथै प्रशासनिक कार्यका क्रममा हुन सक्ने मानवीय वा प्राविधिक त्रुटिलाई स्वीकार गर्दै सानातिना विषयलाई सामाजिक सञ्जालमा लैजानुको सट्टा प्रत्यक्ष संवाद र समझदारीमार्फत समाधान खोज्न अभिभावक तथा सरोकारवालालाई अनुरोध गरिएको छ।
वि.सं. २०३३ सालमा स्थापना भई ५०औं वर्षको यात्रातर्फ अग्रसर रहेको यस विद्यालयले विभिन्न राजनीतिक, सामाजिक र आर्थिक चुनौतीबीच पनि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गरिएको छ।
‘हामी बोल्नु पर्दैन, काम आफैं बोल्छ’ भन्ने मूल मान्यतासहित विद्यालयले आफूलाई समुदायको साझा सम्पत्ति भएको बताउँदै आगामी दिनमा सबै पक्षबाट सकारात्मक, जिम्मेवार र सहयोगात्मक भूमिकाको अपेक्षा गरेको छ।

