वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित कादम्बरी एकेडेमी स्कुलको प्राथमिक तहको सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत प्रि–प्राइमरीदेखि यूकेजीसम्मका विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा बालबालिकाहरूले विभिन्न सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति गरेका थिए।
कादम्बरी एकेडेमी स्कुलका प्रिन्सिपल राजेन्द्र आचार्यको सभापतित्व तथा निरसिंह स्कुलका प्रधानाध्यापक नवीन मिश्राको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि मिश्राले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्राले कादम्बरी एकेडेमीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै अतिरिक्त क्रियाकलापको क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै प्रशंसा गर्नुभयो। विद्यार्थीहरूको शैक्षिक विकाससँगै यस्ता सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापले उनीहरूको बौद्धिक क्षमता, प्रतिभा र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
कार्यक्रमको समापन समारोहमा प्रिन्सिपल राजेन्द्र आचार्यले भने विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शिक्षा सँगसँगै उनीहरूको बौद्धिक विकासमा अगाडि बढाउने उद्देश्यले यस्ता अतिरिक्त कार्यक्रमहरू विद्यालयले आयोजना गरेको बताएका छन्१ कादम्बरी स्कुलले सासाना बालबालिकाहरूलाई शिक्षा सँगसँगै यस्ता खेलकुद सांस्कृतिक एवं अन्य कार्यक्रम मार्फत उनीहरुलाई शिक्षामा प्रोत्साहन गर्दै अगाडी बढाउने लक्ष्य रहेको प्रिन्सिपल आचार्यको भनाइ रहेको छ।
कार्यक्रममा नर्सरी, एलकेजी, यूकेजी तथा पीजी तहका साना विद्यार्थीहरूले विभिन्न सांस्कृतिक गीतमा आकर्षक नृत्य तथा प्रस्तुतिहरू दिएका थिए। बालबालिकाहरूको प्रतिभा, कला र प्रस्तुतिले कार्यक्रममा उपस्थित अतिथि तथा अभिभावकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रममा डीएभी स्कुलका प्रिन्सिपल राकेश मिश्रा, एनप्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, दिल्ली पब्लिक स्कुलका प्रिन्सिपल आनन्दलगायतले आ–आफ्नो धारण राख्नु भएको थियो। उनीहरूले विद्यालयले सानै उमेरदेखि बालबालिकाको प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको भन्दै यस्ता कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण शिक्षिकाद्वय इन्दिरा न्यौपाने र प्रियंका गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा अभिभावकहरु, शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।