पर्सागढी नगरपालिका अन्तर्गत बढनियार क्षेत्रमा सञ्चालन गरिएको ‘घरदैलोमा डाक्टर’ कार्यक्रम सम्पन्न भएको छ । प्रभु हस्पिटल वीरगंजको सहकार्य तथा जुनतारा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा २५० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
कार्यक्रमअन्तर्गत १९० जना महिला र ६० जना पुरुषको स्वास्थ्य परीक्षण, सुगर किटमार्फत मधुमेह परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका तथा अस्पतालसम्म पुग्न नसक्ने बिरामीलाई लक्षित गरी घरदैलोमै पुगेर उपचार तथा स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
स्थानीय बलिराम शुक्लाको समन्वय तथा जुनतारा सहकारीकी अध्यक्ष मञ्जु क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रभु हस्पिटलकी सञ्चालिका एवं स्त्रीरोग विशेषज्ञ डा। लक्ष्मी थापा गुप्ताको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वरिष्ठ फिजिसियन डा। रवि रञ्जन साहको विशेष उपस्थितिमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा पत्रकार एवं सामाजिक अभियन्ता बलिराम शुक्लाले आगामी दिनमा यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिन आफूले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी कार्यक्रम प्रमुख दिलिपराज कार्कीले अस्पताल केवल व्यवसायिक नाफामुखी नभई सेवामूलक भावनाका साथ जनतासँग हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
दुर्गम तथा पिछडिएका क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा सहकारीकी अध्यक्ष मञ्जु क्षेत्रीले आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा दीर्घरोगी, ज्येष्ठ नागरिक तथा महिलासम्बन्धी जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई आगामी उपचारमा थप सहयोग तथा सेवा उपलब्ध गराइने डा। लक्ष्मी थापा गुप्ताले बताइन् । साथै प्रभु हस्पिटलले आगामी साताहरूमा अन्य दुर्गम तथा पिछडिएका क्षेत्रमा पनि यस्ता घरदैलो स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिने जानकारी उनले दिइन् ।
