३१ वैशाख, काठमाडौं । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा तत्काल लागु हुने गरी प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रोयटर्सका अनुसार भारतले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको छ ।
यसअघि चालु सिजनमा १५ लाख ९० हजार टन चिनी निर्यात गर्न अनुमति दिएको भए पनि आन्तरिक उत्पादनमा देखिएको अनिश्चितता र विश्वव्यापी कमोडिटी बजारको अस्थिरता मध्यनजर गर्दै भारतले आफ्नो नीतिमा परिवर्तन गरेको हो ।
ब्राजिलपछि विश्वकै दोस्रो ठूलो चिनी उत्पादक देश भारतमा पछिल्लो समय उखु उत्पादनमा भारी गिरावट आएको छ । महाराष्ट्र र कर्नाटक जस्ता प्रमुख उखु उत्पादक राज्यहरूमा उत्पादन घटेकाले लगातार दोस्रो वर्ष पनि खपतभन्दा कम चिनी उत्पादन हुने अनुमान गरिएको छ ।
यसका साथै, ‘अल निनो’ को प्रभाव र मनसुन अनिश्चितताले आगामी सिजनमा पनि उखु उत्पादन प्रभावित हुने चिन्ता बढेको छ । अर्कातर्फ, कच्चा तेलको बढ्दो मूल्य र डलरको तुलनामा भारतीय रुपैयाँको अवमूल्यनका कारण आन्तरिक बजारमा खाद्यान्न महँगी बढ्ने जोखिम ध्यानमा राखेर सरकारले निर्यातभन्दा आन्तरिक आपूर्ति सुरक्षित गर्न यो कदम चालेको बताइएको छ ।
चिनी निर्यातमा लगाइएको यो प्रतिबन्ध भारतको इथानोल उत्पादन नीतिसँग पनि जोडिएको उल्लेख गरिएको छ । आयातित कच्चा तेलमाथिको निर्भरता घटाउन भारतले पेट्रोलमा २० प्रतिशत इथानोल अनिवार्य मिसाउने लक्ष्य राखेको छ ।
यसका लागि मिलहरूले आफ्नो क्षमता विस्तार गरेका छन् र ठूलो मात्रामा उखुलाई चिनीको सट्टा इथानोल उत्पादनमा प्रयोग गर्न थालिएको छ ।
उखु इथानोलतर्फ बढी प्रयोग हुँदा आन्तरिक खपत र निर्यातका लागि चिनी अभाव हुने विश्लेषकहरूले पहिले नै औँल्याएका थिए । यद्यपि, सरकारले सबै प्रकारका (कच्चा र सेतो) चिनी निर्यातमा रोक लगाए पनि निर्यात प्रक्रियामा गइसकेका र अमेरिका तथा युरोपेली संघको निश्चित कोटा अन्तर्गतका निर्यातलाई भने छुट दिएको छ ।
भारतले निर्यात रोक्दा ब्राजिल र थाइल्यान्ड जस्ता प्रतिस्पर्धी देशहरूलाई भने एसिया र अफ्रिकामा आफ्नो व्यापार विस्तार गर्ने ठूलो अवसर पाउनेछन् ।