वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–४ डोकेला बहुअरीका ५५ वर्षीय महेन्द्र राउतको सवारी दुर्घटनापछि उपचारको क्रममा निधन भएपछि परिवारले आर्थिक अभावका कारण शव बुझ्न पाएका छैनन्।
परवानीपुरस्थित नेपाल मेडिसिटी वयोद्या अस्पतालले उपचार खर्च नबुझाएसम्म शव फिर्ता नदिने अडान लिएको छ। मृतक राउतको शव हाल अस्पतालको फ्रिजमा राखिएको छ।
घटना गत असोज १८ गते साँझ भएको थियो। पैदल हिँडिरहेका राउतलाई बहुदरमाई–१ का मन्देश साह तुरहा सवार मोटरसाइकलले ठक्कर दिएका थिए। ठक्करपछि गम्भीर घाइते भएका राउत १७ दिनदेखि अस्पतालमा उपचाररत थिए। टाउकोको शल्यक्रियासहित लामो उपचारपश्चात् हिजो बिहान उनको निधन भएको हो।
अस्पतालका अनुसार उपचारमा कुल ९ लाख रुपैयाँ खर्च भएको छ। ठक्कर दिने तुरहाले १।५ लाख रुपैयाँ तिरेका छन् भने परिवारजनले २ लाख रुपैयाँ मात्र बुझाएका छन्। बाँकी ७ लाख रुपैयाँ नतिर्दा अस्पतालले शव फिर्ता गर्न अस्वीकार गरेको छ।
अस्पताल प्रशासनका विष्णु पटेलका अनुसार, “उपचार खर्च कानूनीरूपमा परिवारले बेहोर्ने गरी मञ्जुरीनामा सहीछाप गरिएको थियो। बाँकी रकम नतिर्दासम्म शव फिर्ता गर्न सकिँदैन। तर, अलि छुट दिई शव दिन सकिन्छ।”
पीडित परिवारका सदस्य रमेश यादवले बताए अनुसार मृतकको आर्थिक अवस्था कमजोर रहेको छ। राउतको एक श्रीमती र एक पूर्ण अपाङ्ग छोरा रहेकोले घरको आर्थिक अवस्था नाजुक छ।
ठक्कर दिने मोटरसाइकल चालक मन्देश साह तुरहा फरार छन्। इलाका प्रहरी कार्यालय पोखरियाले उनका खोजी कार्य तीव्र रूपमा भइरहेको जनाएको छ। परिवारले तुरहालाई पक्राउ गरी क्षतिपूर्ति र बाँकी उपचार खर्च दिलाउन प्रहरीसँग आग्रह गरेका छन्।
शव रोकिएपछि परिवार आर्थिक र मानसिक रूपमा गहिरो पीडामा परेको छ।