वीरगञ्ज (पर्सा) – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज भन्सार नाकाबाट आठ अर्ब ७० करोड रुपैयाँ बराबरका विभिन्न थरिका सवारीसाधन आयात भएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधनको आयातबाट मात्रै सात अर्ब ७७ करोड राजस्व सङ्कलन गरिएको छ।
भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आर्थिक वर्षमा सवारीसाधन आयात र त्यसबाट प्राप्त राजस्व दुवैमा उल्लेखनीय वृद्धि भएको जानकारी दिए। गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १९ करोड मूल्यका सवारीसाधन आयात भएका थिए भने पाँच अर्ब ९५ करोड राजस्व सङ्कलन भएको थियो।
मोटरसाइकल आयातमा वृद्धि-
चालु वर्षको तीन महिनामा तीन अर्ब ४१ करोड मूल्यका २४ हजार ९३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन्। ती मोटरसाइकलबाट तीन अर्ब २८ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। गत वर्षको सो अवधिमा दुई अर्ब ४९ करोड मूल्यका १९ हजार ४८९ मोटरसाइकल आयात भएका थिए।
जीप, कार र भ्यान आयात घट्यो-
चालु आवमा ६२ करोड २४ लाख मूल्यका ३३० वटा जीप, कार र भ्यान आयात भएका छन्। यी सवारीसाधनबाट एक अर्ब ७५ करोड राजस्व उठेको छ। तर गत वर्षको सोही अवधिमा ७६ करोड ५८ लाख मूल्यका ४३२ सवारीसाधन आयात भएका थिए, जसबाट एक अर्ब ९६ करोड राजस्व सङ्कलन भएको थियो।
विद्युतीय सवारीसाधन आयातमा तीव्र वृद्धि-
चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड पाँच लाख मूल्यका २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। यी सवारीसाधनबाट ४५ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सारले जनाएको छ। गत आवको सोही अवधिमा भने १४ करोड ४९ लाख मूल्यका ९७ वटा विद्युतीय सवारीसाधन मात्रै आयात भएका थिए, जसबाट नौ करोड ११ लाख राजस्व उठेको थियो।