रुपन्देही । लामो समयदेखि डेडिकेटेड तथा ट्रंक लाइनमार्फत् विद्युत उपभोग गरी प्रिमियम महसुल तिर्न बाँकी राखेका रुपन्देहीका चार उद्योगले अन्ततः बक्यौता बुझाएर जिम्मेवार औद्योगिक आचरणको उदाहरण प्रस्तुत गरेका छन् ।
भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार नेपाल विद्युत प्राधिकरणलाई बक्यौताको पहिलो किस्ता बुझाएपछि विद्युत आपूर्ति पुनः जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
२०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा ती उद्योगहरूले डेडिकेटेड र ट्रंक लाइनमार्फत विशेष सुविधासहित विद्युत उपयोग गरेका थिए ।
सो अवधिको प्रिमियम महसुल बक्यौता क्रमशः पञ्चकन्या प्लाष्टिक : रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टील : रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्ट : रु १ करोड ८३ लाख, श्याम प्लास्टिक : रु ४९ लाख १० हजार रहेको प्राधिकरणले जनाएको छ।
बक्यौतालाई २८ किस्तामा विभाजन गरी तिर्न उद्योगहरू सहमत भएका छन् । पहिलो किस्ता बुझाएसँगै प्राधिकरणले विच्छेद गरिएको विद्युत लाइन पुनः जडान गरेको हो ।
प्राधिकरणले यस कदमलाई औद्योगिक क्षेत्रको वित्तीय पारदर्शिता र उत्तरदायित्वको संकेतका रूपमा व्याख्या गरेको छ । उद्योगहरूले पनि यसलाई उत्पादन र रोजगारी पुनर्सञ्चालनतर्फको अवसरका रूपमा लिएका छन् ।
विद्युत प्राधिकरणका अधिकारीहरूका अनुसार, अन्य बक्यौता उद्योगहरूलाई पनि किस्ता प्रणालीमार्फत भुक्तानी गरी कानुनी जटिलता टार्न र सञ्चालनमा फर्किन प्रोत्साहन दिइनेछ ।