पर्सा जिल्लामा तीन दिनअघि सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले जिल्लामा सुशासन र प्रभावकारी सेवा प्रवाहमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँगको साक्षात्कारमा दाहालले नागरिक सेवा केन्द्रित दृष्टिकोण राख्ने र ढिलासुस्ती वा लापरबाही सह्य नहुने स्पष्ट पारे।
दाहालका अनुसार, पर्सा उनको चौथो कार्यक्षेत्र हो। यसअघि उनले सप्तरीमा ११ महिना सेवा दिँदै मधेसका जिल्लाका समस्या र संवेदनशीलता राम्ररी बुझिसकेका छन्। “समस्या समाधानका लागि सकारात्मक सोच र सहकार्य आवश्यक हुन्छ। मेरो कार्यकालमा नागरिकलाई अनावश्यक दुःख दिने काम हुँदैन,” उनले भने।
उनी पर्सा पुग्नासाथ जिल्लास्थित सबै सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरिसकेका छन्। सरकारी सेवामा ढिलासुस्ती वा सेवाग्राहीलाई असुविधा दिने काम भएमा सोधपुछका लागि उनीसँग सीधै सम्पर्क गर्न सकिने दाहालले बताए।
सीमाक्षेत्रबाट हुने अवैध ओसार–पसार, चोरी–तस्करी र अन्य अपराध नियन्त्रणमा कडाइका साथ काम गरिने उनले बताए। साथै, नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवामा अनावश्यक सर्जिमिन र मुचुल्का माग्ने प्रवृत्ति अन्त्य गरिने उनले स्पष्ट पारे।
दाहालले सरकारी कर्मचारीको बोली–व्यवहारले राज्यको छवि निर्धारण गर्ने भएकाले सेवाग्राहीप्रति नम्रता र उत्तरदायित्वका साथ व्यवहार गर्नुपर्ने जोड दिएका छन्। “कसैको दबाब वा प्रभावमा काम गर्दिनँ। कानून र प्रक्रिया अनुसार ढिलाइ सह्य हुनेछैन,” उनले भने।
साक्षात्कार कार्यक्रममा सहायक प्रजिअ सुमन कुमार कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व अध्यक्ष दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे, प्रेस चौतारी नेपालका मधेस प्रदेश अध्यक्ष लालबबु शेष, र पर्सा अध्यक्ष निरञ्जन मिश्रसहितका सञ्चारकर्मीहरू उपस्थित थिए।