नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संगठन सुदृढीकरण र जनसंपर्क अभियानलाई देशव्यापी रूपमा तीव्रता दिने निर्णय गरेको छ। पार्टीले वडा, पालिका र जिल्ला तहमा जनभेला सञ्चालन गरी जनतामाझ प्रत्यक्ष संवाद गर्ने योजना अघि सारेको छ। यसै सन्दर्भमा पर्सा क्षेत्र नम्बर ९१० मा आज आयोजित बैठकले जनभेला अभियानलाई सफल बनाउन ठोस कार्ययोजना बनाउँदै अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ। बैठकमा स्थानीय तहका पार्टी नेतृत्व, निर्वाचित जनप्रतिनिधि र विभिन्न तहका कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति थियो।
बैठकमा सहभागी नेताहरूले संगठन पुनर्गठन र जनसंपर्क विस्तारलाई पार्टीको प्राथमिक एजेन्डा बनाइएको उल्लेख गर्दै त्यसका लागि सबै तहका कार्यकर्ताहरू एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन्। बैठकमा एमालेका वरिष्ठ नेताहरू पूर्व सांसद प्रभु हजरा, नेता बसरुद्दिन अन्सारी र सुन्दर राउत कुर्मीले आ–आफ्ना धारणा राख्दै पर्सा जिल्लालाई पार्टीको संगठनात्मक रूपमा बलियो बनाउने दिशा निर्धारण गरेका थिए। उनीहरूले कार्यकर्ताहरूलाई वडा–वडा, टोल–टोलमा पुगेर पार्टीका नीति, कार्यक्रम र आगामी निर्वाचनका एजेन्डा जनतामाझ पुर्याउन आह्वान गरे।
पूर्व सांसद हजराले भने, “एमाले सधैं जनताको पक्षमा उभिने पार्टी हो। अहिलेको अभियान जनताको विश्वास पुनः सुदृढ गर्ने र संगठनलाई बलियो बनाउने दिशामा निर्णायक हुनेछ।” उनले संगठनभित्र अनुशासन, एकता र जनसेवामा समर्पित भावनाको आवश्यकता औंल्याए। त्यसैगरी नेता बसरुद्दिन अन्सारीले स्थानीय जनतालाई प्रत्यक्ष रूपमा समेटेर पार्टीको जनाधार विस्तार गर्नुपर्नेमा जोड दिँदै भने, “हामीले गाउँ–गाउँमा पुग्नुपर्छ, किनकि लोकतान्त्रिक राजनीति जनताको मन र मतबाट चल्ने हो।”
नेता सुन्दर राउत कुर्मीले युवा तथा नयाँ मतदातालाई आकर्षित गर्न सामाजिक अभियान, तालिम र नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए। बैठकले पर्साका सबै वडा र पालिकामा क्रमशः जनभेला आयोजना गर्ने, स्थानीय मुद्दा, विकासका चुनौती र जनअपेक्षा समेट्ने गरी छलफल गर्ने निर्णय पनि गरेको छ। त्यससँगै स्थानीय तहमा संगठन संरचना सुदृढीकरण, जनसंगठनहरू सक्रिय बनाउने, र नेतृत्व विकासका कार्यक्रमहरू अघि बढाइने निर्णय गरिएको छ।
पार्टीले जनभेला अभियानलाई आगामी निर्वाचनको तयारीको रुपमा पनि लिएको छ। नेताहरूका अनुसार, यी कार्यक्रमहरूले पार्टी र जनताको बीचमा विश्वास र सहकार्यको पुल निर्माण गर्न मद्दत गर्नेछन्।
बैठकको अन्त्यमा उपस्थित नेताहरूले पार्टीभित्र एकता, समर्पण र साझा लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै, आगामी दिनहरूमा पर्सालाई मधेस प्रदेशमै संगठन सुदृढीकरणको नमुना जिल्लाका रूपमा अघि बढाउने अठोट गरेका छन्।