काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नेपाल राष्ट्र बैंकले दुई बैंकलाई नियामक मापदण्ड उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। केन्द्रीय बैंकले प्राइम कमर्सियल बैंक र कुमारी बैंक लिमिटेडलाई सचेत गराउँदै सुधारका निर्देशन दिएको हो।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार, प्राइम कमर्सियल बैंकले कर्जाको वर्गीकरण नियमानुसार नगरेको र कर्जाको भाखा नाघेको अवस्थाको ऋणलाई आवश्यक रूपमा वर्गीकरण गरी नोक्सानी व्यवस्थापन नगरेको पाइएको हो। साथै, केही कर्जामा जोखिम भार गणना गर्दा समेत तोकिएको नियामक मापदण्ड पालना नगरिएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।
राष्ट्र बैंकले कारबाही विवरणमा उल्लेख गरेको छ, “प्राइम कमर्सियल बैंकले एकीकृत निर्देशन २०८१ अन्तर्गतका प्रावधान उल्लंघन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार चेतावनी दिइएको हो।”
उता, कुमारी बैंकलाई पनि कालोसूचीमा रहेका खाताबाट बैंकिङ कारोबार गर्न दिएको कारण सचेत गरिएको छ। नियमानुसार, कालोसूचीमा रहेका व्यक्ति, कम्पनी वा संस्थाले फुकुवा नहुँदासम्म आफ्नो खातामा रकम जम्मा गर्न बाहेक अन्य कारोबार गर्न नपाउने व्यवस्था छ।
तर, कुमारी बैंकले उक्त प्रावधान पालना नगरेको पाइएकोले बैंकलाई पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार चेतावनी दिइएको केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकले आगामी दिनमा यस्ता नियामक उल्लंघन दोहोरिए कडा कारबाही हुने चेतावनी समेत दिएको छ।