वीरगञ्ज– मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मिडिया काउन्सिलद्वारा आयोजित “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।
मिडिया काउन्सिलकी कार्यबाहक अध्यक्ष बन्दना झाको सभापतित्व तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथि तथा प्रशिक्षक धर्मेन्द्र झाले पत्रकार आचारसंहिता, पेशागत उत्तरदायित्व, सञ्चार माध्यमको विश्वसनीयता तथा मर्यादित पत्रकारिताको महत्वबारे सहजीकरण गरेका थिए।
त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, प्रदेश कोषाध्यक्ष अनिल गौरव तथा प्रदेश सदस्य साजिर मन्सुर लगायतले पत्रकारितामा आचारसंहिताको पालनाले सञ्चार क्षेत्रप्रति जनविश्वास बढ्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा पत्रकारिताको गुणस्तर अभिवृद्धि, सञ्चारकर्मीको पेशागत जिम्मेवारी तथा समाजप्रति सञ्चार माध्यमको उत्तरदायित्वका विषयमा व्यापक छलफल र अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै सहभागीहरूले स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिता प्रवर्द्धनका लागि यस्ता अभिमुखीकरण कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।