जितपुर–सिमरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्ता सहित पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। बिहीबार संघको कार्यालयमा आयोजित एक समारोहबीच नवनिर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेका हुन्।
सपथ तथा पदभार ग्रहण गर्ने पदाधिकारीहरूमा अध्यक्ष गुप्तासहित वरिष्ठ उपाध्यक्ष शिवजीप्रसाद साह सोनार, वाणिज्य उपाध्यक्ष रामबाबु कलवार, महासचिव प्रकाश गिरी, कोषाध्यक्ष रिना रौनियार पुरी तथा वाणिज्य सचिव रिता कँडेल रहेका छन्।त्यसैगरी, वाणिज्यतर्फ निर्वाचित सदस्यहरू अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, विजयकुमार गुप्ता, नवरत्नप्रसाद कलवार र मनोहरबाबु गुप्ताले समेत सपथ ग्रहण गरी पदभार सम्हालेको प्रमुख निर्वाचन अधिकृत शरदचन्द्र भट्टराईले जानकारी दिए। कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत भट्टराईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रम संघका निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष अशोक टेमानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टेमानीले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उद्योगी तथा व्यवसायीहरूको हकहित संरक्षण र प्रवर्द्धनका लागि संघले अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।"यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको समस्या समाधान तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि संघले निरन्तर पहल गर्नुपर्छ," उनले भने।टेमानीले नेपालको सबैभन्दा ठूलो विशेष आर्थिक क्षेत्र (SEZ) यही क्षेत्रमा अवस्थित रहेको उल्लेख गर्दै उक्त क्षेत्रमा लगानीका अवसरको अधिकतम उपयोग गर्न उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे।"विशेष आर्थिक क्षेत्रमा लगानी विस्तार गरी औद्योगिक विकासलाई गति दिन निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ," उनले भने, "नवनिर्वाचित नेतृत्वले व्यवसायीहरूको विश्वासलाई कायम राख्दै प्रभावकारी र परिणाममुखी ढंगले काम गर्ने अपेक्षा गरेको छु।"
यसैबीच, नवनिर्वाचित समितिले संघमा आबद्ध ९५७ जना सदस्यका लागि एक वर्ष अवधिको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
नवनिर्वाचित अध्यक्ष गुप्ताले निजी क्षेत्रलाई आतंकित बनाउने गतिविधिका विषयमा सम्बन्धित सरकारी निकायसँग सहजीकरण गरी व्यवसायीहरूको सुरक्षा र हितका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।ूपथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा अवस्थित उद्योग तथा व्यवसायीहरूको सम्मान र प्रतिष्ठा अभिवृद्धि गर्ने एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्नेछौं, अध्यक्ष गुप्ताले भने,उद्योगी तथा व्यवसायीको समस्या समाधान र निजी क्षेत्रको प्रवर्द्धनका लागि संघ सधैं अग्रसर रहनेछ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधवराज पाल, संघका पूर्व पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
