चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनका क्रममा हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थामाथि ठेस पुग्ने अभिव्यक्ति दिइएको आरोप लगाउँदै पर्साका दुई धार्मिक सङ्गठनले विरोध जनाएका छन्।
राष्ट्रिय बजरंग दल, पर्सा र नेपाल विश्व हिन्दु महासंघ, पर्साले संयुक्त रूपमा पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन्।
नेपाल विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष श्रीनन्दन भारद्वाज र राष्ट्रिय बजरंग दल पर्साका प्रतिनिधि विवेक सिन्हाको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
ज्ञापनपत्रमा रास्वपाको महाधिवेशनमा सहभागी प्रतिनिधि महबुब आलमले सञ्चारमाध्यममार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाइएको छ। भगवान् श्रीराम र लक्ष्मणलाई राजनीतिक व्यक्तिसँग तुलना गर्दै दिइएको अभिव्यक्तिले करोडौं हिन्दु धर्मावलम्बीहरूको धार्मिक भावना आहत भएको दाबी गरिएको छ।
दुवै सङ्गठनले राजनीतिक व्यक्तिको महिमामण्डनका लागि धार्मिक आस्थाका केन्द्रविन्दु भगवान् श्रीरामको नाम प्रयोग गर्नु निन्दनीय तथा अस्वीकार्य भएको बताएका छन्। धार्मिक आस्थामाथि प्रहार हुने यस्ता गतिविधि तत्काल रोक्नुपर्ने उनीहरूको माग छ।
ज्ञापनपत्रमार्फत धार्मिक प्रतीक तथा आराध्य देवताहरूको नाम राजनीतिक प्रचार वा व्यक्तिगत स्वार्थका लागि प्रयोग नगर्न, सम्बन्धित व्यक्तिबाट सार्वजनिक रूपमा माफी माग्न तथा भविष्यमा यस्ता गतिविधि दोहोरिए कडा आन्दोलनका कार्यक्रम सञ्चालन गरिने चेतावनीसमेत दिइएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पुग्ने विषयलाई गम्भीरतापूर्वक लिइने तथा कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन्।
दुवै संस्थाले धर्म, संस्कृति र सनातन परम्पराको संरक्षणका लागि सम्पूर्ण हिन्दु समुदायलाई एकजुट हुनसमेत आग्रह गरेका छन्।