वीरगंज पब्लिक कलेजले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा शनिबार रजत जयन्ती तथा २५औँ शैक्षिक वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
कलेजका संस्थापक तथा प्राध्यापक डा। दीपक शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी पशुपति विक्रम शाह प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ पत्रकार दिपेन्द्र चौहान, कलेजका बासु कर्ण, देवेश गुप्ता तथा मधु राणा लगायतले धारणा राखेका थिए।
समारोहमा कलेजका चेयरम्यान संकल्प शाक्य, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, अतिथिहरू डा। विनय श्रेष्ठ, विनयकुमार ठाकुर, युगुल प्रसाद, प्रदीप अर्याल, उषा साह, विजय कुमार, गणेश क्षेत्री, ओमकुमार झा, रमेश शर्मा तथा सौराज प्रधान लगायतको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य व्यक्त गर्दै बासु कर्णले २५ वर्षको यात्रामा कलेजलाई विश्वास र साथ दिने अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे।
प्रमुख अतिथि पशुपति विक्रम शाहले विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा कलेजले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा समृद्ध समाज निर्माणको आधार भएको बताए। उनले शैक्षिक प्रमाणपत्रसँगै नैतिकता, अनुशासन र नेतृत्व क्षमतायुक्त दक्ष जनशक्ति उत्पादनमा पनि विशेष ध्यान दिनुपर्ने धारणा राखे।
उनले निजी शैक्षिक संस्थाहरूले आधुनिक, व्यावहारिक तथा प्रविधिमैत्री शिक्षामार्फत देशका लागि सक्षम नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै कलेजले आगामी दिनमा पनि आफ्नो उत्कृष्ट शैक्षिक परम्परालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष डा। दीपक शाक्यले २५ वर्षअघि सीमित स्रोत–साधनबाट सुरु भएको कलेज आज यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित हुन सफल भएको बताए। उनले उक्त सफलता शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको निरन्तर सहयोग र विश्वासको परिणाम भएको उल्लेख गरे।
समारोहमा कलेजको २५ वर्षे शैक्षिक यात्राको समीक्षा, संस्थाको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान, विविध सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदानप्रदानका कार्यक्रमसमेत सम्पन्न भएका थिए।
कलेज प्रागंनमा आयोजित कार्यक्रमको सञ्चालन कलेजका निर्देशक डा. अर्बिन्द श्रेष्ठले गरेका थिए।