वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनपछि महानगरका विभिन्न बजार क्षेत्रमा फोहोर संकलन तथा जाम भएका नालाहरू सफा गर्ने कार्यलाई तीव्रता दिइएको छ।
महानगरपालिकाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेका अलखियामठ, आदर्शनगरलगायतका क्षेत्रमा केही समययता फोहोर व्यवस्थापन र नाला जामको समस्या बढ्दै गएपछि स्थानीय बासिन्दा तथा व्यवसायीले सास्ती खेप्दै आएका थिए। सर्वसाधारणबाट गुनासो बढ्न थालेपछि कार्यवाहक नगरप्रमुख आलमले महानगरको सरसफाइ शाखा तथा प्राविधिक टोलीलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका थिए।
निर्देशनसँगै महानगरपालिकाको सरसफाइ टोली आवश्यक उपकरण तथा सवारीसाधनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। सडक तथा गल्लीहरूमा थुप्रिएका फोहोर संकलन गरी व्यवस्थापन गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको महानगरपालिकाले जनाएको छ। सरसफाइका क्रममा सवारीसाधन र पैदलयात्रीको आवागमनमा असर नपर्ने गरी काम भइरहेको छ।
त्यसैगरी, मनसुनका बेला पानी जम्ने समस्यालाई ध्यानमा राख्दै बजार क्षेत्रका जाम भएका नालाहरू सफा गर्ने तथा पानीको निकास खुलाउने कामलाई समेत प्राथमिकताका साथ अगाडि बढाइएको छ।
कार्यवाहक नगरप्रमुख आलमको सक्रियतापछि बजार क्षेत्रको सरसफाइ अवस्थामा सुधार आउन थालेको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणले महानगरपालिकाको पहलको स्वागत गरेका छन्।
महानगरपालिकाले बजार क्षेत्रलाई स्वच्छ, सुन्दर र दुर्गन्धमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, जथाभावी फोहोर नफाल्न र नालामा अवरोध पुग्ने गरी कुनै पनि सामग्री नराख्न नगरवासीसँग आग्रह गरेको छ।