वीरगञ्ज, असार १३ — नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपालिज यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) वीरगञ्ज च्याप्टरको छैटौँ वार्षिक साधारणसभा शुक्रबार वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोमा सम्पन्न भएको छ।
च्याप्टरका अध्यक्ष विश्वास प्रताप साहको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरिप्रसाद गौतम प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना तथा निजी क्षेत्रको सुदृढीकरणमा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले नवीन सोच, प्रविधि र व्यावसायिक दक्षतासहित युवा उद्यमीहरू अघि बढ्नुपर्नेमा जोड दिँदै उद्यमशीलता प्रवर्द्धनका हरेक प्रयासमा वीरगञ्ज उद्योग वाणिज्य संघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले अनुभवी व्यवसायी र युवा उद्यमीबीच सहकार्य, ज्ञान आदानप्रदान तथा नेटवर्क विस्तारको आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमले उद्यमशीलताको वातावरणलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
साधारणसभामा च्याप्टरले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, गतिविधि तथा उपलब्धिसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै आगामी वर्षका कार्यक्रम, योजना तथा उद्यमशीलता प्रवर्द्धनका नयाँ पहलहरूबारे पनि छलफल गरिएको थियो।
यसैबीच, साधारणसभाले चन्दन सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिले युवा उद्यमशीलताको विकास, सदस्यहरूबीच सहकार्य अभिवृद्धि तथा नयाँ व्यवसायिक अवसरहरूको खोजीमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश लाठ, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्तालगायत उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन दीप प्रज्वलनबाट गरिएको थियो भने ममता विद्यालयका बालबालिकाहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।