बारा, असार १९ — बाराको बारागढी गाउँपालिका, खोपवाको आयोजनामा "समृद्धिका लागि सहकार्य : जनप्रतिनिधि र सहकारी नेतृत्व संवाद" विषयक एकदिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।
गाउँपालिकाको कृषि भवनस्थित सभाहलमा आयोजित कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी रायको अध्यक्षतामा सम्पन्न भएको थियो।
अन्तरक्रिया कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरू रेणु देवी जयसवाल, संगीता कुमारी चौधरी, धनमन्ती मलाहीन, वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका स्थानीय सरकार प्रवक्ता पन्नालाल साह, कृषि शाखा प्रमुख हिमान्सु कुमार फौजदारलगायत गाउँपालिकाभित्र रहेका विभिन्न सहकारी संस्थाका सञ्चालक समिति पदाधिकारी, अध्यक्ष, प्रबन्धक, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य पशु चिकित्सक लक्ष्मीनारायण चौधरीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन अभिषेक चौधरीले गर्नुभएको आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीय तह र सहकारी संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै आर्थिक तथा सामाजिक समृद्धिको यात्रामा साझेदारी बढाउनुपर्ने विषयमा छलफल भएको थियो। सहभागीहरूले सहकारी क्षेत्रलाई स्थानीय विकासको महत्वपूर्ण आधारका रूपमा अगाडि बढाउन आवश्यक सुझावसमेत प्रस्तुत गरेका थिए।