सामाजिक अभियन्ता तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन बिमल सर्राफले मानिसबीचको सम्बन्ध बलियो वा कमजोर हुनुमा व्यवहारको सबैभन्दा ठूलो भूमिका हुने बताएका छन्।प्रेससँग कुराकानी गर्दै उनले प्रकृतिले मानिसहरूलाई एकै ठाउँमा ल्याउने अवसर प्रदान गरे पनि सम्बन्धलाई दिगो, आत्मीय र विश्वासिलो बनाउने काम व्यक्तिको व्यवहारले गर्ने उल्लेख गरे।
उनका अनुसार जीवनमा सकारात्मक परिवर्तनका लागि गरिएका प्रयासहरू सफलतातर्फ अघि बढ्न थालेपछि आलोचना, विरोध र चुनौतीहरू आउनु स्वाभाविक प्रक्रिया हो। यस्ता परिस्थितिमा धैर्य नगुमाई आत्मविश्वासका साथ निरन्तर अघि बढ्ने व्यक्तिले नै अन्ततः सफलता हासिल गर्ने उनले बताए।
सर्राफले व्यक्तिको वास्तविक परिचय उसको पद, प्रतिष्ठा वा सम्पत्तिले नभई कर्मले दिने धारणा व्यक्त गरे। उनले हीरा र सुनको उदाहरण दिँदै शरीरभन्दा कर्मको मूल्य ठूलो हुने बताए। ूअसल कामले नै व्यक्तिको सम्मान र पहिचान स्थापित गर्छ, उनले भने।
भगवान कृष्णको सन्देश उद्धृत गर्दै उनले अनावश्यक चिन्ताले भविष्य परिवर्तन नगर्ने, बरु वर्तमानलाई नै प्रभावित पार्ने भएकाले मनलाई शान्त राख्दै समाधानतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए। उनले जीवनलाई सफल र अर्थपूर्ण बनाउन धनसँगै असल कर्म र पुण्यको पनि सञ्चय गर्नुपर्नेमा जोड दिए। धन अस्थायी भए पनि असल कर्मले समाजमा दीर्घकालीन छाप छोड्ने उनको भनाइ थियो।
शब्दको प्रयोगमा संयम अपनाउन आग्रह गर्दै सर्राफले बोलेका शब्दले व्यक्तित्वको मूल्यांकन हुने बताए। उनले शिक्षा मात्र पर्याप्त नभई अरूको भावना बुझ्ने क्षमता नै साँचो बुद्धिमत्ता भएको उल्लेख गरे।
आस्तिक वा नास्तिक जे भए पनि जीवनप्रति यथार्थवादी दृष्टिकोण अपनाउन सके मात्र व्यक्ति सही मार्गमा अघि बढ्न सक्ने उनको निष्कर्ष थियो।