वीरगञ्ज– ठोरी नाकाबाट भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनलाई हिजो देखि निःशुल्क सुविधा पास उपलब्ध गराउन सुरु गरिएको छ। लामो समयदेखि स्थानीय पर्यटन व्यवसायी, व्यापारी तथा सरोकारवालाले उठाउँदै आएको माग सम्बोधन भएसँगै भारतीय पर्यटकलाई आफ्नै सवारीसाधनमा ठोरी बजार र आसपासका पर्यटकीय स्थलसम्म सहज रूपमा आउजाउ गर्ने बाटो खुलेको हो।
यसअघि भारतीय सवारीसाधनलाई निःशुल्क सुविधा पासको व्यवस्था नहुँदा भन्सार प्रक्रिया पूरा गरी राजस्व तिरेपछि मात्र प्रवेश अनुमति दिइन्थ्यो। जटिल प्रक्रियाका कारण धेरैजसो भारतीय पर्यटक सीमा क्षेत्रबाटै फर्किने वा सवारी रोकेर पैदल यात्रा गर्न बाध्य हुने अवस्था थियो। यसको प्रत्यक्ष असर ठोरीका होटल, रेष्टुरेन्ट, पर्यटन व्यवसाय तथा स्थानीय व्यापारमा परेको व्यवसायीहरूको भनाइ थियो।
यो समस्या समाधानको माग गर्दै स्थानीय व्यवसायीहरूले विभिन्न चरणमा आन्दोलन र पहल गर्दै आएका थिए। पर्यटन व्यवसायीको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको थियो भने पर्सा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले पनि सोमबार प्रतिनिधिसभाको बैठकमा विषय उठाएर सरकारको ध्यानाकर्षण गराएका थिए।
त्यसपछि स्थानीय तह, प्रशासन र सम्बन्धित निकायबीच भएको समन्वयपछि ठोरी छोटी भन्सार कार्यालयबाटै भारतीय चारपाङ्ग्रे सवारीसाधनलाई निःशुल्क सुविधा पास उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आएको हो।
नयाँ व्यवस्था लागू भएसँगै हिजो बीआर २२ पीए ०३९२ नम्बरको भारतीय सवारीसाधनले निःशुल्क सुविधा पास लिएर पहिलो पटक ठोरी बजार प्रवेश गरेको छ। स्थानीय व्यवसायीहरूले यसलाई सीमा क्षेत्रमा देखिएको समस्याको व्यावहारिक समाधानका रूपमा लिँदै स्वागत गरेका छन्।
भारतीय पर्यटकको सहज आगमनले अब ठोरीको पर्यटन गतिविधि थप चलायमान हुने, होटल तथा व्यापार व्यवसायमा चहलपहल बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। साथै, यो व्यवस्थालाई दीर्घकालीन रूपमा निरन्तरता दिँदै सीमा क्षेत्रको पर्यटन विकासका लागि थप सहजीकरण गर्न स्थानीयवासीले सरकारसँग आग्रह गरेका छन्।