वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकापछि छिपहरमाई गाउँपालिकास्थित भिस्वा नाकाबाट पनि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेश बुधबारदेखि पुनः सुचारु भएको छ। असार १९ गतेदेखि लागू गरिएको प्रवेश प्रतिबन्ध हटाइएसँगै सीमावर्ती क्षेत्रको आवागमन सहज हुने, पर्यटन गतिविधि बढ्ने तथा स्थानीय व्यापार–व्यवसायले गति लिने अपेक्षा गरिएको छ।
भारतीय सवारीसाधनको प्रवेश रोकिएपछि ठोरी बजारका होटल, रेस्टुरेन्ट, पर्यटन व्यवसाय तथा सीमापार आवतजावतमा निर्भर स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित भएका थिए। प्रतिबन्ध हटाउन प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले समेत सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समाधानको माग गरेका थिए।
सरकारी निकायबीचको समन्वय र विभिन्न तहबाट भएको पहलपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीलाई पुनः नेपाल प्रवेशको अनुमति दिने निर्णय गरिएको हो। भन्सार कार्यालयका अनुसार भारतीय सवारीसाधनले ठोरी छोटी भन्सारबाट निःशुल्क सुविधा पास लिएपछि ठोरी बजार तथा आसपासका पर्यटकीय क्षेत्रसम्म सहज रूपमा आवतजावत गर्न सक्नेछन्।
यसैबीच, पर्साको भिस्वा नाकामा पनि बुधबारदेखि छोटी भन्सार कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ। सरकारको निर्णयअनुसार ठोरी र भिस्वा दुवै नाकामा छोटी भन्सार सेवा सुरु गरिएको हो।
प्रारम्भिक चरणमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म भारतीय चारपाङ्ग्रे सवारीसाधनलाई निःशुल्क प्रवेश अनुमतिपत्र (सुविधा पास) उपलब्ध गराइने व्यवस्था गरिएको भन्सार कार्यालयले जनाएको छ। भिस्वा छोटी भन्सारमा कर्मचारी दिल लिम्बुसहित दुई जना कर्मचारी खटाइएको छ।
भारतीय सवारीसाधनको पुनः प्रवेशसँगै सीमावर्ती क्षेत्रका बासिन्दालाई वैवाहिक, धार्मिक, पारिवारिक तथा पर्यटकीय प्रयोजनका लागि आवतजावत सहज हुने विश्वास गरिएको छ। साथै भारतीय पर्यटकको आगमन बढेसँगै होटल, रेस्टुरेन्ट, खुद्रा व्यापार तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा सकारात्मक प्रभाव पर्ने स्थानीय व्यवसायीहरूको अपेक्षा छ।
यद्यपि, सीमा नाकामा सुरक्षा, भन्सार व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। सहज, पारदर्शी र व्यवस्थित आवागमन सुनिश्चित गर्न सकिए यस निर्णयले ठोरी र भिस्वा क्षेत्रको आर्थिक गतिविधिलाई थप चलायमान बनाउनुका साथै सीमावर्ती पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुग्ने विश्वास गरिएको छ।