वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले जिम्मेवारी सम्हालेसँगै धार्मिक, प्रशासनिक र सेवा प्रवाहका विषयमा सक्रियता बढाउनुभएको छ। एकातर्फ उहाँको अध्यक्षतामा श्री गहवामाई मन्दिरको ‘माई विशाल रथयात्रा’लाई व्यवस्थित बनाउन उच्चस्तरीय बैठक बसेको छ भने अर्कोतर्फ प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरासँग मिलेर महानगरका विभिन्न शाखामा आकस्मिक अनुगमनसमेत गरिएको छ।
आगामी असार ३२ गते हुने गहवामाई रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन महानगरको सभाहलमा बसेको बैठकमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, महानगरपालिका तथा आयोजक समितिका प्रतिनिधिहरू सहभागी थिए। बैठकले रथयात्राको व्यवस्थापनका लागि सुरक्षा, सरसफाइ, खानेपानी, विद्युत, दूरसञ्चार तथा धार्मिक मर्यादा कायम गर्ने विषयलाई प्राथमिकतामा राख्दै जिम्मेवारी बाँडफाँड गरेको छ।
बैठकको निर्णयअनुसार रथयात्राका क्रममा जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी परिचालन गरिनेछ। यात्रा मार्गमा शान्ति सुरक्षा, भीड व्यवस्थापन तथा ट्राफिक सञ्चालनलाई प्रभावकारी बनाइने जनाइएको छ।
यात्रा अवधिभर मार्गको सरसफाइका लागि महानगरपालिकाले आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गर्नेछ भने आयोजक समिति, निजी क्षेत्र तथा सामाजिक संस्थाले समेत सहकार्य गर्नेछन्। भक्तजनका लागि विभिन्न स्थानमा शुद्ध खानेपानीको व्यवस्था मिलाइने भएको छ।
यस्तै, विद्युत आपूर्तिमा अवरोध नआओस् भनेर नेपाल विद्युत प्राधिकरणले यात्रा मार्गको वितरण प्रणालीको विशेष निगरानी र मर्मत गर्नेछ। भीडका कारण सञ्चार सेवा प्रभावित हुन नदिन नेपाल टेलिकमलगायत दूरसञ्चार सेवा प्रदायकसँग समन्वय गरी मोबाइल नेटवर्क व्यवस्थापन सुदृढ बनाइने निर्णय पनि बैठकले गरेको छ। धार्मिक मर्यादा, पवित्रता र स्वच्छताको प्रत्यक्ष अनुगमन गर्ने जिम्मेवारी आयोजक समितिलाई दिइएको छ।
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले गहवामाई रथयात्रा वीरगञ्ज मात्र नभई समग्र मधेश प्रदेशकै सांस्कृतिक पहिचानसँग जोडिएको पर्व भएकाले यसको सफल आयोजनाका लागि महानगरले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्बन्धित सबै निकायलाई आफ्नो जिम्मेवारी समयमै पूरा गर्न निर्देशनसमेत दिनुभयो।
यसैबीच, कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेको पहिलो दिनमै आलमले प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरासहित महानगरका विभिन्न शाखामा आकस्मिक ९छड्के० अनुगमन गर्नुभएको छ।
शुक्रबार बिहान कार्यालय समयमै गरिएको अनुगमनका क्रममा विभिन्न शाखामा कार्यरत करिब २० जना कर्मचारी कार्यकक्षमा अनुपस्थित भेटिएका थिए। प्रमुख प्रशासकीय अधिकृत बोहराले अनुपस्थित कर्मचारीमध्ये केही बिदामा, केही फिल्डमा र केही ढिलो उपस्थित भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउँदै सबै विवरणको प्रमाणीकरण गरिने र लापरबाही पुष्टि भए नियमानुसार कारबाही गरिने जानकारी दिनुभयो।
कार्यवाहक प्रमुख आलमले अनुगमनको उद्देश्य कारबाहीभन्दा पनि सेवाग्राहीका गुनासा बुझ्ने, सेवा प्रवाह प्रभावकारी बनाउने तथा कर्मचारीले भोगिरहेका व्यवहारिक समस्या पहिचान गर्ने रहेको बताउनुभयो। उहाँले पछिल्लो परिवर्तित परिस्थितिमा महानगरको सेवा प्रणालीलाई थप चुस्त, पारदर्शी र जनउत्तरदायी बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।
महानगरको नेतृत्व सम्हालेपछि कार्यवाहक प्रमुख आलमले देखाएको सक्रियतालाई प्रशासनिक सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।