वीरगञ्ज- नेशनल प्याब्सन वीरगञ्जले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका ५६ जना विद्यार्थीलाई सम्मान गरेको छ। स्थानीय होटल भिसुवामा आयोजित समारोहमा विद्यार्थीहरूलाई प्रशंसापत्र र गम्छा प्रदान गर्दै सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले उत्कृष्ट विद्यार्थीहरूको सम्मानका लागि आयोजना गरिएको कार्यक्रमको प्रशंसा गर्दै नेशनल प्याब्सन परिवारलाई धन्यवाद दिएका थिए। उनले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउने, थप मेहनत गर्न प्रेरणा दिने र शैक्षिक वातावरणलाई सकारात्मक बनाउने विश्वास व्यक्त गरे।
नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष तथा सगरमाथा एकेडेमीका संस्थापक जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले विद्यार्थी तथा अभिभावकलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्दै वीरगञ्जमै गुणस्तरीय उच्च शिक्षाको वातावरण निर्माण गर्न नेशनल प्याब्सन प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय संस्थापक सदस्य तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसियाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। त्यसैगरी, केन्द्रीय सचिव सुशील महतो, हिसान पर्साका जिल्ला अध्यक्ष मुकेश गुप्ता तथा प्याब्सन वीरगञ्ज नगर अध्यक्ष राहुल श्रीवास्तवले वीरगञ्जमै प्लस–टु तथा उच्च शिक्षाका लागि उपयुक्त शैक्षिक वातावरण निर्माण भइरहेको उल्लेख गर्दै विद्यार्थी र अभिभावकलाई स्थानीय शैक्षिक संस्थाप्रति विश्वास गर्न आग्रह गरे। काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यका साथ शैक्षिक पूर्वाधार विकासमा काम भइरहेको उनीहरूको भनाइ थियो।
समारोहमा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व, विद्यालय सञ्चालक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। होली ल्यान्ड स्कुल, कादम्बरी स्कुल, ग्रीनल्यान्ड साइन्स स्कुल, ज्ञान उदय बोर्डिङ स्कुल, आइडियल स्कुल, सेमी सेकेन्डरी स्कुललगायतका विद्यालयका संस्थापक तथा प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए।
नेशनल प्याब्सनका अनुसार सम्मान समारोहको उद्देश्य एसईई २०८२ मा उत्कृष्ट उपलब्धि हासिल गरेका विद्यार्थीलाई सम्मान गर्दै उनीहरूलाई थप प्रेरित गर्नुका साथै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्नु हो।
कार्यक्रमको स्वागत मन्तव्य नेशनल प्याब्सन वीरगञ्ज महानगर सचिव तथा गोल्डेन गेट माध्यमिक विद्यालयका प्रिन्सिपल शेख अजहरले राखेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल शर्माले गरेका थिए।