वीरगञ्ज, साउन १३ । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदै छ। यस अवसरमा गायत्री मन्त्र, दीक्षा तथा वेद मन्त्र सुनाउने एवं शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गर्दै विभिन्न धार्मिक, शैक्षिक तथा सामाजिक कार्यक्रम आयोजना गरिएका छन्।
सनातन हिन्दू परम्पराअनुसार ज्ञानरूपी प्रकाशद्वारा अज्ञानरूपी अन्धकार हटाउने व्यक्तित्वलाई गुरु मानिन्छ। तन्त्रशास्त्र र धर्मशास्त्रमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुने उल्लेख गर्दै गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका स्वरूपका रूपमा व्याख्या गरिएको छ।
शास्त्रमा गुरुप्रतिको सम्मान व्यक्त गर्दै—
“गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥”
भन्ने श्लोक प्रचलित रहेको छ। साथै, ‘आचार्यदेवो भव’ भन्ने वैदिक मान्यताअनुसार गुरुलाई माता–पितासरह देवतुल्य मान्ने परम्परा रहिआएको छ।
गुरु पूर्णिमाका अवसरमा देशभरका विद्यालय, शिक्षण संस्था तथा विभिन्न सामाजिक संघ–संस्थाहरूले आफ्ना गुरुजनप्रति सम्मान व्यक्त गर्दै विशेष कार्यक्रम आयोजना गरेका छन्। विद्यार्थीहरूले गुरुबाट आशीर्वाद ग्रहण गर्नुका साथै गुरु–शिष्य सम्बन्धको महत्वलाई स्मरण गर्ने परम्परा पनि यस दिन कायम रहन्छ।
आजकै दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र १८ उपपुराणका रचनाकार महर्षि वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइँदै छ। आषाढ शुक्ल पूर्णिमाकै दिन महर्षि वेदव्यासको जन्म भएको धार्मिक विश्वासका आधारमा यस दिनलाई व्यास जयन्तीका रूपमा विशेष महत्वका साथ मनाउने गरिन्छ।