वीरगञ्ज, साउन १३ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट, दुर्व्यवहार र ज्यान मार्ने धम्कीका घटनाप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले देशव्यापी आन्दोलन जारी राखेको छ। आन्दोलनका कारण मंगलबार आकस्मिकबाहेकका अधिकांश स्वास्थ्य सेवा बन्द हुँदा देशभर ३ लाखभन्दा बढी बिरामी उपचारबाट वञ्चित भएका छन्।
नेपाल चिकित्सक सङ्घका अनुसार पछिल्लो १० महिनामा ९० भन्दा बढी चिकित्सकमाथि आक्रमण तथा दुर्व्यवहारका घटना भएका छन्। अस्पतालभित्र जबर्जस्ती प्रवेश गर्ने, चिकित्सकलाई गालीगलौज गर्ने, सामाजिक सञ्जालमार्फत बदनाम गर्ने तथा फोनबाट ज्यान मार्ने धम्की दिने प्रवृत्ति बढ्दै जाँदा चिकित्सकहरू असुरक्षित महसुस गर्न बाध्य भएको सङ्घको भनाइ छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष डा. सञ्जीव तिवारीले डर र त्रासको वातावरणमा गुणस्तरीय स्वास्थ्य सेवा दिन नसकिने बताउँदै चिकित्सकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
हालको आन्दोलनको मुख्य कारण वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको चिकित्सकमाथिको आक्रमण हो। शनिबार उपचारका क्रममा ४५ वर्षीय एक मुटुरोगीको मृत्यु भएपछि आक्रोशित आफन्तले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि साङ्घातिक आक्रमण गरेका थिए।
गम्भीर घाइते डा. रामको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाको विरोधस्वरूप नारायणी अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा बुझाएका छन् भने अस्पतालको ओपीडी सेवा लगातार तेस्रो दिनसम्म प्रभावित बनेको छ।
यसअघि उदयपुरको कटारी अस्पताल, नेपालगञ्जस्थित भेरी अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि चिकित्सकमाथि कुटपिट र दुर्व्यवहारका घटना भइसकेका छन्।
देशव्यापी आन्दोलनका कारण काठमाडौंका वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताललगायत सरकारी तथा निजी स्वास्थ्य संस्थाको ओपीडी सेवा ठप्प बनेको छ। उपचारका लागि टाढाटाढाबाट आएका हजारौँ बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन्।
वीरगञ्जमा पनि नारायणी अस्पतालसहित अधिकांश स्वास्थ्य संस्थाको ओपीडी सेवा बन्द हुँदा पर्सा, बारा, रौतहट तथा आसपासका जिल्लाबाट आएका सयौँ बिरामी समस्यामा परेका छन्। कतिपय बिरामी होटल वा आफन्तको घरमा बस्न बाध्य भएका छन् भने धेरैजना उपचार नपाई घर फर्किएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सकमाथिको आक्रमणको निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। आयोगले अत्यावश्यक स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक प्रभावित भएको उल्लेख गर्दै आन्दोलनका वैकल्पिक उपाय अपनाई वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ।
उपभोक्ता हित संरक्षण मञ्च तथा शिक्षाविद् केदारभक्त माथेमाले पनि चिकित्सकमाथि हुने हिंसामा संलग्नलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिँदै बिरामीलाई मर्का पर्ने गरी स्वास्थ्य सेवा बन्द नगर्न चिकित्सकहरूसँग अपिल गरेका छन्।
माग पूरा नभएको भन्दै नेपाल चिकित्सक सङ्घले बुधबार पनि आकस्मिकबाहेकका सेवा बन्द राख्ने जनाएको छ। सङ्घका अनुसार काठमाडौं उपत्यकामा माइतीघर मण्डलमा प्रदर्शन गरिनेछ भने उपत्यकाबाहिरका चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै धर्ना दिने कार्यक्रम तय गरिएको छ।
चिकित्सकमाथिको बढ्दो आक्रमण, त्यसको विरोधमा जारी आन्दोलन र स्वास्थ्य सेवा अवरुद्ध भइरहेका कारण समस्या तत्काल समाधान नभए देशको स्वास्थ्य सेवा प्रणाली अझ जटिल बन्न सक्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्।