वीरगञ्ज । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट आयात हुने प्रमुख वस्तुहरूको परिमाण र मूल्य गत आर्थिक वर्षमा उल्लेख्य रूपमा वृद्धि भएको छ। उद्योगका लागि आवश्यक कच्चा पदार्थ, कृषि उत्पादनमा प्रयोग हुने मलखाद, सवारी साधन, विद्युतीय उपकरणदेखि दैनिक उपभोग्य वस्तुसम्मका शीर्ष १० आयातित वस्तुको आयात मूल्य अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको देखिएको छ।
वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा शीर्ष १० आयातित वस्तुमध्ये कुनै पनि वस्तुको आयात मूल्य घटेको छैन। यसले एकातिर औद्योगिक कच्चा पदार्थ तथा निर्माण सामग्रीको माग बढेको सङ्केत गरेको छ भने अर्कोतर्फ उपभोगमुखी वस्तु र इन्धनमा मुलुकको विदेशी निर्भरता अझ गहिरिँदै गएको देखाएको छ।
तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपाल आयल निगमले वीरगञ्ज नाकाबाट मात्रै २ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ, जुन सबैभन्दा बढी आयात भएको वस्तु हो।
इन्धनपछि उद्योग तथा निर्माण क्षेत्रसँग सम्बन्धित सामग्रीको आयात पनि उल्लेख्य रूपमा बढेको छ। गत आवमा ८३ अर्ब ५६ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य सामग्री, ७० अर्ब ९३ करोड रुपैयाँ बराबरको मेसिनरी तथा पार्टपुर्जा तथा ६८ अर्ब ३२ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको छ।
त्यसैगरी, ४७ अर्ब ५८ करोड रुपैयाँ बराबरका विद्युतीय उपकरण तथा तिनका पार्टपुर्जा र ३९ अर्ब १७ करोड रुपैयाँ बराबरका सवारी साधन तथा तिनका पार्टपुर्जा नेपाल भित्रिएका छन्। सवारी साधनको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ४१।२५ प्रतिशत ले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।
कृषि क्षेत्रका लागि आवश्यक मलखादको आयातमा भने सबैभन्दा ठूलो वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा ३१ अर्ब ५१ करोड रुपैयाँ बराबरको मल आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६२.०९ प्रतिशत ले बढी हो।
यस्तै, ३१ अर्ब ४७ करोड रुपैयाँ बराबरको कपडा आयात भएको छ, जसमा ४४.८२ प्रतिशत को वृद्धि देखिएको छ। त्यस्तै २९ अर्ब ३० करोड रुपैयाँ बराबरका एलोपेथिक औषधिजन्य सामग्री तथा २६ अर्ब ४५ करोड रुपैयाँ बराबरका तेलहनजन्य मालवस्तु आयात भएका छन्।
उत्पादनमूलक उद्योगका लागि आवश्यक कच्चा पदार्थ, मेसिनरी तथा उपकरणको आयात बढ्नुले औद्योगिक गतिविधि विस्तार भइरहेको सकारात्मक सङ्केत गरे पनि समग्र आयात संरचनामा उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको उच्च हिस्सा कायम रहनुले मुलुक अझै आयातमुखी अर्थतन्त्रमा निर्भर रहेको देखिन्छ।
अर्थशास्त्रीहरूका अनुसार निर्यातको तुलनामा आयात तीव्र गतिमा बढिरहँदा व्यापार घाटा थप फराकिलो हुने र विदेशी मुद्रा सञ्चितिमा निरन्तर दबाब पर्ने जोखिम यथावत् रहनेछ।