वीरगञ्ज । विश्व मुटु दिवसको अवसरमा लायन्स क्लब अफ वीरगञ्जको आयोजना तथा इन्दिरा वेलनेस सेन्टरको सहयोगमा वीरगञ्जमा जनचेतनामूलक प्रभातफेरी तथा कोणसभा आयोजना गरिएको छ।
नारायणी अस्पताल नजिकै रहेको इन्दिरा वेलनेस सेन्टरको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थानको परिक्रमा गर्दै घडिअर्वा पोखरियामा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरूले मुटुरोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न तथा खानपानमा विशेष ध्यान दिनुपर्ने सन्देश दिएका थिए।
कोणसभामा बोल्दै नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले पछिल्लो समय युवापुस्तामा समेत मुटुरोगको जोखिम बढ्दै गएको बताउँदै समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो। उहाँले केही मुटुरोग वंशानुगत कारणले समेत हुने भएकाले नियमित स्वास्थ्य परीक्षणसँगै व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिनुभयो।
मुटुरोग लाग्नुअघि नै सावधानी अपनाउनु आवश्यक रहेको बताउँदै डा. सिंहले मुटुरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो।
आयोजकका अनुसार युवापुस्तामा बढ्दो मोटोपन, धूम्रपान, मदिरा सेवनलगायतका कारण मुटुरोगको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्ने तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा उपप्राध्यापक रुबी शाह, डा. दीपक चौरसिया, डा. उमेश कुमार, डा. दिलिप चौरसियालगायत चिकित्सक तथा लखन र नर्सिङ क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
विश्व मुटु दिवसका अवसरमा आयोजित यस्ता जनचेतनामूलक कार्यक्रमले सर्वसाधारणलाई मुटुको स्वास्थ्यप्रति सचेत बनाउन तथा मुटुरोगको जोखिम न्यूनीकरणमा योगदान पुग्ने आयोजकको अपेक्षा छ।