६ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबारको अवरोधपछि मंगलबार खुलेको सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
आज नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४ विन्दुमा पुगेको छ भने कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको छ । यसअघिको कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँमा सीमित रहेको कुल सेयर कारोबार रकम बढेर यसदिन ७ अर्ब ४ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।
आजको कारोबारमा विभिन्न समूहहरूमा मिश्रित प्रभाव देखिएको छ । बजारमा ‘अन्य’ समूहका लगानीकर्ताहरूको विशेष आकर्षण देखिँदा यो समूहको सूचक सबैभन्दा धेरै १.३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२ र माइक्रोफाइनान्स समूह ०.४८ प्रतिशतले बढेका छन् ।
यता, फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहका सूचकहरूमा भने सामान्य गिरावट आएको छ, जसमध्ये व्यापार समूह सबैभन्दा धेरै ०.९३ प्रतिशतले घटेको छ ।
आज कुल १३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटा कम्पनीको घटेको छ, साथै ११ कम्पनीको मूल्य स्थिर रहेको छ । मिडसोलु हाइड्रोपावर, फर्स्ट माइक्रोफाइनान्स, मैलुङखोला जलविद्युत र मान्डु हाइड्रोपावरका लगानीकर्ताहरूले उच्च कमाइ गरेका छन् भने स्नो रिभर्स, नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल बालाजु लगायतका कम्पनीका लगानीकर्ताले केही गुमाएका छन् । यस दिन हाथवे इन्भेस्टमेन्ट, हिमालयन डिस्टिलरी, र लिबर्टी इनर्जीलगायतका कम्पनीहरूको उच्च कारोबार भएको छ ।