धादिङको गजुरी गाउँपालिका–२ छहरेस्थित चालिसेमा पहिरो तथा ठूला ढुंगा पन्छाएपछि पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएको राजमार्गलाई थप पहिरो तथा अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
चालिसेमा सडकमा खसेको पहिरो तथा ठूला ढुंगा हटाएपछि मंगलबार दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको हो। यसअघि सोमबार साँझ पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो। त्यसपछि थप पहिरो खसेकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ भएको थियो।
नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना पूर्वी खण्डका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार पहिरो तथा ढुंगा हटाएर सडकमा आवश्यक चौडाइ खुलाइएको हो। सुरुमा ४ देखि ६ घण्टामा सडक खुलाउने अनुमान गरिए पनि कामका क्रममा थप जोखिम देखिएपछि करिब ९ घण्टामा यातायात सञ्चालन गर्न सकिएको उनले बताए।
अधिकारीका अनुसार तत्काल यातायात सहज बनाउन सडक खुलाइए पनि यसलाई स्थायी समाधानका रूपमा लिन सकिने अवस्था छैन। परेवाभीर क्षेत्रमा अझै माथिबाट बिस्तारै माटो तथा लेदो झर्ने क्रम रहेकाले थप काम गर्नुपर्ने अवस्था रहेको उनले बताए। त्यसका लागि लोडर मेसिनसमेत परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार साँझ जारी गरेको सूचनामा पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा अन्य अवरोध हटाउने काम भइरहेको जनाएको छ। हाल राजमार्गमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको र थप पहिरो वा अन्य अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार अविरल वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खसेर यातायात प्रभावित भएपछि जनशक्ति, स्काभेटर तथा अन्य मेसिन परिचालन गरी सडक खुलाउने काम निरन्तर गरिएको छ। उनका अनुसार कृष्णभीर क्षेत्रमा पनि हाल दुईतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। यससँगै राजमार्गका अन्य अवरुद्ध तथा जोखिमयुक्त स्थानमा पनि सडकलाई सहज रूपमा सञ्चालनमा ल्याउने काम भइरहेको छ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिने जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। जुनसुकै समयमा पहिरो खस्न सक्ने सम्भावना रहेकाले चालक, यात्रु तथा सडक प्रयोगकर्तालाई सावधानीपूर्वक यात्रा गर्न र प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पालना गर्न प्रशासनले आग्रह गरेको छ।