वीरगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा वीरगञ्जमा ‘युवा जागृतिद्वारा विश्व परिवर्तन’ (Youth Awakening for World Transformation) विषयक प्रेरणामूलक युवा सम्मेलन सम्पन्न भएको छ।
युवा प्रभा वीरगञ्जको आयोजनामा भएको सम्मेलनमा युवालाई सकारात्मक सोच, आत्मअनुशासन, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणमा सक्रिय सहभागिताका लागि प्रेरित गरिएको थियो।
ब्रह्माकुमारी राजयोगिनी रविना दिदीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रहरी उपरीक्षक भट्टराईले युवालाई लागूऔषध तथा मादक पदार्थबाट टाढा रहँदै समाज परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
उहाँले समाजमा हुने अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि प्रहरीलाई समयमै सूचना दिएर सहयोग गर्न युवालाई अपिल गर्नुभयो। युवाको सकारात्मक सोच र सक्रिय सहभागिताले समाजमा शान्ति तथा सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
कार्यक्रममा ब्रह्माकुमारी बेली दिदी, युवा प्रभाका क्षेत्रीय संयोजक बीके गोवर्धन, क्षेत्रीय सहसंयोजक बीके गोकुललगायत विभिन्न क्षेत्रका अतिथि तथा युवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात अतिथिहरूलाई पुष्पगुच्छाले स्वागत गर्दै गरिएको थियो। प्रमुख अतिथि प्रहरी उपरीक्षक भट्टराईले दीप प्रज्वलन गरी सम्मेलनको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य, स्वागत नृत्य तथा चित्र प्रदर्शनीसमेत प्रस्तुत गरिएको थियो।
सम्मेलनको मुख्य विषय ‘युवा जागृतिद्वारा विश्व परिवर्तन’ माथि मन्तव्य राख्दै वक्ताहरूले युवाको चेतना, सकारात्मक सोच र व्यवहारमा आउने परिवर्तनले समाज तथा राष्ट्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्ने धारणा व्यक्त गरे।
सहभागी युवालाई आफ्नो क्षमता पहिचान गरी समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न आह्वान गरिएको थियो। वक्ताहरूले युवा पुस्ताको ऊर्जा र सिर्जनशीलतालाई सही दिशामा परिचालन गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए।
सम्मेलनमा सकारात्मक जीवनशैली, अनुशासन, आत्मविश्वास, सेवा भावना, सामाजिक सद्भाव तथा नेतृत्व विकासका विषयमा प्रेरणादायी सन्देश दिइएको थियो। सहभागीहरूले सामूहिक रूपमा सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनका लागि प्रतिबद्ध रहने प्रतिज्ञासमेत गरेका थिए।
कार्यक्रममा रोट्र्याक्ट क्लब वीरगञ्जका अध्यक्षले युवाको भूमिका र सामाजिक उत्तरदायित्वका विषयमा मन्तव्य राख्नुभएको थियो। त्यसैगरी राजयोग कमेन्ट्री, शुभाशीष वचन तथा समापन मन्तव्यसमेत प्रस्तुत गरिएको थियो।
आयोजकका अनुसार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित सम्मेलनले युवामा सकारात्मक सोच र जागरण अभिवृद्धि गर्दै समाज रूपान्तरणमा उनीहरूको भूमिका बलियो बनाउने उद्देश्य राखेको हो। युवा पुस्तामा चेतना, आत्मविश्वास, सेवा भावना तथा नेतृत्व क्षमता विकास गर्दै युवालाई समाज र राष्ट्रको सकारात्मक परिवर्तनको आधार बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।
कार्यक्रमको सहजीकरण ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी गोपिनी श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा सहभागी तथा अतिथिहरूलाई सौगात वितरण गर्दै सामूहिक फोटो सेसन गरिएको थियो।