वीरगञ्ज, २ भदौ । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारी र सशस्त्र प्रहरी निरीक्षक उत्तर वाईवा ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड–२०८३’ बाट सम्मानित भएका छन्।
वीरगञ्ज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा स्थापना गरेको उक्त अवार्डबाट अधिकारी र वाईवालाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।
वीरगञ्ज उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साको संयुक्त आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।
अवार्ड प्रदान गर्दै संघका अध्यक्ष गौतमले स्वर्गीय सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले सुरक्षा क्षेत्रमा पुर्याएको योगदान र राष्ट्र सेवाप्रतिको समर्पणलाई चिरस्थायी बनाउन अवार्ड स्थापना गरिएको बताए। उनले निजी क्षेत्र र सरकारी सुरक्षा निकायबीचको सहकार्य, समन्वय र विश्वासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टले सशस्त्र प्रहरी बलले सीमा सुरक्षासँगै विपद् व्यवस्थापन, उद्धार तथा नागरिक सुरक्षाका क्षेत्रमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए। सुरक्षा निकाय र निजी क्षेत्रबीचको सहकार्यले मुलुकको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने उनको भनाइ थियो।
कार्यक्रमको समापन गर्दै सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले सशस्त्र प्रहरी कर्मचारीले संगठनका मूल्य, मान्यता र अनुशासनलाई आत्मसात् गर्दै कर्तव्य निर्वाह गर्नुपर्ने बताए। उनले इमानदारी, निष्ठा र कर्तव्यपरायणतालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको अवार्डले सशस्त्र प्रहरी कर्मचारीमा सकारात्मक ऊर्जा र जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गरे।
सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको २०८० भदौ २ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत रहेकै अवस्थामा निधन भएको थियो। उनको योगदान र स्मृतिलाई सम्मान गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघले ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड’ स्थापना गरेको हो।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव शिवजीप्रसाद साह, सहसचिव नरेश टिवडेवाल, प्रमुख प्रशासकीय अधिकृत मनोज उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका उपाध्यक्ष सञ्जय अग्रवाललगायत सशस्त्र प्रहरीका विभिन्न तहका अधिकारी, प्रहरी प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।