वीरगञ्ज । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले बाढी, हिमपहिरो लगायतका विपद्का बेला राजनीतिक दोषारोपण र अनावश्यक टिप्पणीबाट माथि उठेर उद्धार, राहत तथा पुनर्स्थापनामा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरेका छन्।
सोमबार गल्छी गाउँपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले विपद्को कठिन घडीमा राजनीतिक स्वार्थभन्दा माथि उठेर सबै नेपाली एकताबद्ध हुनुपर्ने बताए।
उनले हतारमा गरिने पुनर्स्थापना तथा पुनर्निर्माणले दीर्घकालीन समाधान नदिने भन्दै जोखिमयुक्त स्थानमा स्थायी संरचना निर्माण गर्न नहुने धारणा राखे। संघीय सरकारले आवश्यक कानुन तथा स्पष्ट विधि तय गरेपछि मात्रै स्थायी संरचना निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
सभामुख अर्यालले दशैँ–तिहारअघि नै बाढी तथा विपद्पीडित परिवारलाई ‘फास्ट ट्र्याक’मार्फत पुनर्स्थापना गर्ने सरकारको प्राथमिकता रहेको बताए। त्यसका लागि राहत तथा पुनर्स्थापनाका कार्यक्रम प्रभावकारी, व्यवस्थित र लक्षित बनाउनुपर्नेमा उनले जोड दिए।
राहत वितरणमा देखिन सक्ने असमानता रोक्न स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी एकद्वार प्रणाली लागू गर्ने प्रयास भइरहेको उनले जानकारी दिए। ‘कुनै घरमा १० बोरा चामल पुग्ने तर अर्को घरमा १० किलोसमेत नपुग्ने अवस्था हुनुहुँदैन,’ उनले भने।
स्वदेशी तथा विदेशी दातृ निकाय, विभिन्न संघसंस्था तथा नागरिकबाट प्राप्त राहत सामग्री वास्तविक पीडितसम्म समयमै र व्यवस्थित रूपमा पुर्याउनुपर्नेमा सभामुख अर्यालले जोड दिए।
विपद्मा परेका नागरिकलाई राहत तथा क्षतिको विवरण सङ्कलनका नाममा हतारहतार फारम भर्न लगाउने वा निश्चित समयभित्र विवरण बुझाउन दबाब दिएर थप तनाव दिन नहुने उनले बताए।
उद्धार तथा राहतका कामलाई प्रचारको माध्यम बनाउन नहुने भन्दै सभामुख अर्यालले सामाजिक सञ्जालमा लाइक, भ्युज र चर्चाका लागि पीडित तथा उद्धारका तस्बिर–भिडियो सार्वजनिक गर्ने प्रवृत्तिप्रति समेत सचेत रहन आग्रह गरे।
उनले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा पीडित नागरिकको जीवनरक्षा, राहत, सुरक्षित पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।