तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश चौधरीसहित १० जना प्रतिवादीलाई बारा जिल्ला अदालतले रिहा गरेको छ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य ९ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो। उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त ठोस प्रमाण नदेखिएको अदालतको आदेशमा उल्लेख छ।
रिहा हुनेमा चौधरीका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता तथा सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन छन्।
बालिकाका बुबा मनोज चौधरीको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो।
यसै प्रकरणमा प्रतिवादी बनाइएका दुई नाबालकलाई भने अदालतले बाल सुधारगृह पठाउने आदेश दिएको छ। तीमध्ये एक नाबालकले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ।
जीतपुरसिमरा–१ की तीन वर्षीया बालिकाको शव भदौ २ गते घरदेखि करिब एक सय मिटर दक्षिणतर्फको खाली घरमा भेटिएको थियो। साउन ३१ गतेदेखि हराएकी बालिकाको बलात्कारपछि हत्या भएको भन्दै घटनापछि बारा तथा देशभर विरोध प्रदर्शनसमेत भएको थियो।