भदौ-२९ वीरगन्ज- विश्व तेली दिवसको अवसरमा तेली कल्याण समाज पर्साले रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १ लाख ५१ हजार रुपैयाको सहयोग चेक हस्तान्तरण गरेको छ।
समाजले संकलन गरेको उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुलाई चेक हस्तान्तरण गरेको हो।
आज आयोजित एक समारोह बीच तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहले रु।१ लाख ५१ हजार ९एक लाख एकाउन्न हजार रुपैयाँ० बराबरको सहयोग रकमको चेक सांसद कानुलाई हस्तान्तरण गर्नुभएको हो।
चेक हस्तान्तरण कार्यक्रममा समाजका सचिव वीरेन्द्र साह, उपाध्यक्ष पारस साह, कोषाध्यक्ष नितेश गुप्ता, पर्सागढी नगरपालिकाका अध्यक्ष नन्दु प्रसाद साह, लालबाबु साह, पवन साह, मधुसूदन साह, बाराका कपिलदेव साह तेली लगायत राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता शिव कुमार साह, सुधीर पटेल, राज कुमार साह, राम आर्या, फैयाज अन्सारिको समेत सहभागिता थियो।
रसुवा बाढीपीडितका लागि सहयोग रकम संकलन गर्दै आएका सांसद कानुले विश्व तेली दिवसको अवसरमा विपद्का पीडित परिवारका लागि सहयोग गरेकोमा तेली कल्याण समाज पर्सा तथा सहयोगमा संलग्न सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै प्राप्त सहयोगले रसुवाका बाढीपीडित परिवारको राहत तथा पुनःस्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
तेली कल्याण समाज पर्साले विश्व तेली दिवसलाई सामाजिक सेवा र मानवीय सहयोगसँग जोड्दै विपद्का कारण प्रभावित परिवारका लागि सहयोग रकम उपलब्ध गराएको तेली कल्याण समाज पर्सा प्रवक्ता शिव कुमार साहले बताएका हुन।