पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका जेठा छोरा नासिर अहमद पक्राउ परेका छन्। ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीले जगरनाथपुर गाउँपालिका–५ घर भई हाल वीरगञ्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका ४६ वर्षीय नासिरलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नासिरलाई शुक्रबार साँझ मुर्लीबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार नासिरमाथि आफ्नै भाइ जाफिर अहमदकी सालीको मृत्युको घटनामा संलग्न रहेको आरोप छ। २०७८ साल असोज २१ गते जाफिरकी सालीको शव प्रहरीलाई जानकारी नै नदिई वीरगञ्ज–१३ मुर्लीस्थित कब्रस्तानमा दफन गर्न खोजिएको घटनामा नासिरसहितका व्यक्तिहरू संलग्न रहेको आरोप लागेको थियो।
प्रहरीका अनुसार शव गाड्ने क्रममा नासिर, जाफिर अहमदलगायतका व्यक्तिहरूको संलग्नता रहेको थियो। घटनाका क्रममा जाफिरकी अविवाहित सालीमाथि जबर्जस्ती करणी भएको र त्यसपछि अत्यधिक रक्तश्रावका कारण सिकिस्त भई गाउँकै एक क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको आरोपसमेत रहेको छ।
मृत्यु भएपछि घटनालाई गुपचुप राख्ने प्रयासस्वरूप शव वीरगञ्जको मुर्लीस्थित कब्रस्तानमा लगेर दफन गर्न खोजिएको प्रहरीको दाबी छ। सोही क्रममा प्रहरीले शव गाड्न लागेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै आएको भए पनि नासिरलाई भने करिब पाँच वर्षपछि पक्राउ गरिएको हो। प्रहरीले अहिले पुनः अनुसन्धानलाई अगाडि बढाउँदै ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा नासिरलाई पक्राउ गरेको जनाएको छ।
यसअघि जालिम मियाँको राजनीतिक पहुँचका कारण उक्त घटनाको अनुसन्धान प्रभावकारी रूपमा अघि नबढेको आरोपसमेत लाग्दै आएको थियो। यद्यपि, उक्त आरोपबारे सम्बन्धित पक्षको थप प्रतिक्रिया सार्वजनिक हुन बाँकी छ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका अन्य व्यक्तिहरू भने हाल फरार छन्। उनीहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता मल्लले बताए।