विद्यार्थीमा अंग्रेजी भाषाको सञ्चार क्षमता, आत्मविश्वास, सार्वजनिक वक्तृत्व तथा नेतृत्व सीप विकास गर्ने उद्देश्यले वीरगञ्जस्थित दी रॉयल एकेडेमीमा एकदिने अंग्रेजी भाषा तथा नेतृत्व विकाससम्बन्धी सेमिनार सम्पन्न भएको छ।
रॉयल एकेडेमीअन्तर्गतको रॉयल इङ्लिस कम्युनिटीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रसिद्ध अंग्रेजी शिक्षाविद् तथा प्रशिक्षक सन्तोष कर्णले विद्यार्थीलाई प्रभावकारी सञ्चार, आत्मविश्वास अभिवृद्धि, प्रवाहपूर्ण अंग्रेजी बोलाइ, सार्वजनिक वक्तृत्व तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए।
‘जोडिऔँ, सञ्चार गरौँ र आत्मविश्वास निर्माण गरौँ’ भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा रॉयल इङ्लिस कम्युनिटीका ८५ जना पुराना सदस्यसहित कक्षा ५ देखि ९ सम्मबाट छनोट भएका २५ जना नयाँ सदस्यलाई औपचारिक रूपमा समुदायमा प्रवेश गराइएको थियो। नयाँ सदस्य थपिएसँगै रॉयल इङ्लिस कम्युनिटीमा आबद्ध विद्यार्थीको संख्या ११० पुगेको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यार्थीलाई अंग्रेजी बोल्ने अभ्यास, सञ्चार सीप तथा आत्मविश्वास विकाससँग सम्बन्धित विभिन्न अन्तरक्रियात्मक गतिविधिमा सहभागी गराइएको थियो। प्रशिक्षणका क्रममा विद्यार्थीले सार्वजनिक रूपमा आफ्ना विचार व्यक्त गर्ने, समूहमा छलफल गर्ने तथा नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसरसमेत पाएका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा २५ जना नयाँ सदस्यलाई औपचारिक ब्याज वितरण गर्नुका साथै दीक्षान्त शैलीमा प्रवेश गराइएको थियो। त्यसक्रममा प्रशिक्षक कर्णले अंग्रेजी भाषालाई परीक्षाको विषयमा मात्र सीमित नराखी दैनिक जीवन, अध्ययन तथा भविष्यको व्यावसायिक यात्रामा प्रभावकारी सञ्चारको माध्यमका रूपमा प्रयोग गर्न विद्यार्थीलाई प्रेरित गरेका थिए।
कार्यक्रममा रॉयल एकेडेमीकी निर्देशक सबनम श्रेष्ठ, प्रधानाध्यापक विजया ओझैया, उपप्रधानाध्यापक सुमन श्रेष्ठ, संयोजक सोनु दासलगायतको उपस्थिति थियो। कार्यक्रममा क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष तथा सञ्चारकर्मी आनन्द पटेलसहित विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अवसरमा विद्यार्थी नेतृत्व समिति पनि सार्वजनिक गरिएको थियो। समितिको अध्यक्षमा परिशी दास, उपाध्यक्षमा सिद्धि बिहाउत र साजन बैथा, सचिवमा स्मारिका क्षेत्री तथा कोषाध्यक्षमा साव्या झा रहेका छन्।
कार्यक्रममा स्वागत तथा औपचारिक उद्घाटन, प्रशिक्षक परिचय, अन्तरक्रियात्मक प्रशिक्षण, अंग्रेजी सञ्चार तथा आत्मविश्वास अभिवृद्धिसम्बन्धी गतिविधि, नयाँ सदस्यलाई ब्याज वितरण, प्रशिक्षकको समापन मन्तव्य, प्रमाणपत्र वितरण तथा धन्यवाद ज्ञापनलगायतका कार्यक्रम सम्पन्न भएका थिए। कार्यक्रममा सहभागी अतिथिहरूलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो।
रॉयल एकेडेमीले विद्यार्थीमा अंग्रेजी बोल्ने आत्मविश्वास, प्रभावकारी सञ्चार, सार्वजनिक वक्तृत्व, नेतृत्व क्षमता तथा सक्रिय सहभागिता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिर व्यवहारिक रूपमा अंग्रेजी प्रयोग गर्न तथा भविष्यका लागि आवश्यक नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण सहयोग पुर्याउनेछ।