वीरगञ्ज, ७ असोज । तेरापन्थ युवक परिषद् वीरगञ्जले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्था तथा निजी क्षेत्रसँग सहकार्य गर्दै रक्तदान तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिएको छ।
परिषद्को सहकार्यमा वीरगञ्ज–१०, ठाकुरराम बहुमुखी क्याम्पसको छेउमा रहेको एएसटी प्रालिमा आयोजित रक्तदान कार्यक्रममा २ महिलासहित २१ जनाले रक्तदान गरेका छन्। परिषद्का अध्यक्ष सुनिल दुगडका अनुसार रक्त अभावका कारण बिरामीले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले संस्थाले विभिन्न स्थानमा नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
एएसटी प्रालिका निर्देशक सुमित अग्रवाल र पवन अग्रवाल तथा तेरापन्थ युवक परिषद् वीरगञ्जका अध्यक्ष सुनिल दुगडको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा परिषद्का रक्तदान संयोजक सौरभ भुटोरिया, रक्तदान अनकल संयोजक आशीष चोरडिया, पंकज बैदलगायत एएसटी प्रालिका कर्मचारीहरूको सहभागिता थियो।
रक्तदान गर्नेहरूमा पूनम यादव, सोनाली चौहान, प्रिन्स अग्रवाल, मुकेश कुशवाहा, अंकुश बगेडिया, तपेन्द्र चौधरी, आलोक कुमार मिश्रालगायत रहेका थिए। उनीहरूले रक्तदानमार्फत मानवीय सेवामा योगदान गरेका छन्।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा रेडक्रस स्वयंसेवकको टोलीले रक्त सङ्कलन तथा रक्तदातालाई आवश्यक प्राविधिक सहयोग गरेको थियो।
यसै क्रममा तेरापन्थ युवक परिषद् वीरगञ्जले अध्यक्ष सुनिल दुगडको नेतृत्वमा एएसटी प्रालिमै निःशुल्क आँखा परीक्षण शिविर समेत आयोजना गरेको थियो। शिविरबाट एएसटीमा कार्यरत ४० जना कर्मचारी लाभान्वित भएका छन्।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको आँखा परीक्षण शिविरमा कर्मचारीहरूको आँखाको स्वास्थ्य जाँच तथा आवश्यक परामर्श प्रदान गरिएको थियो।
तेरापन्थ युवक परिषद् वीरगञ्जले रक्तदान, स्वास्थ्य परीक्षण तथा अन्य सामाजिक सेवाका कार्यक्रमहरू विभिन्न संघसंस्था र व्यावसायिक प्रतिष्ठानसँगको सहकार्यमा निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। परिषद्का अनुसार यस्ता कार्यक्रमले समुदायमा सामाजिक उत्तरदायित्व र सेवाभावलाई थप मजबुत बनाउन सहयोग पुग्नेछ।