वीरगंज– वीरगंज लेडिज सर्कल ३ द्वारा वीरगंज कपडा बैंकको सहकार्यमा वीरगंज महानगरपालिका २२ मनियारीको मुसहर टोलमा एक कार्यक्रमको आयोजना गरी निःशुल्क कपडा वितरण गरिएको छ।
महिला सशक्तिकरणसँगै सामाजिक सेवा गर्दै आएको लोकप्रिय संस्था वीरगंज लेडिज सर्कल ३ सँग विगत ७ वर्षदेखि निःशुल्क कपडा वितरण गरी सेवा प्रदान गर्दै आएको वीरगंज कपडा बैंकद्वारा वीरगंज महानगरपालिका २२ को मनियारीमा नयाँ-पुराना मिलाएर लगभग ४ सय थान कपडा वितरण गरिएको छ। यो जानकारी बैंकका कोषाध्यक्ष मनोज मिश्राले दिएका हुन्।
यस कार्यक्रमको अध्यक्षता लेडिज सर्कल ३ की अध्यक्ष निधि जाटिया र वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले संयुक्त रूपमा गरेका थिए भने प्रमुख अतिथि संस्थाका संरक्षक सुरेन्द्र प्रसाद कुर्मी र विशिष्ट अतिथि सल्लाहकार समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय रहेका थिए।
कार्यक्रममा बैंकका सल्लाहकार तथा सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, सदस्य निला कुमारी राम, संगीता दास, वीरगंज लेडिज सर्कल ३ की इमिडियट पास्ट चेयरपर्सन नन्दिनी अग्रवाल, भाइस चेयरपर्सन नेहा अग्रवाल लगायत पदाधिकारी सदस्य तथा स्थानीय अग्रज महिला युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यस अवसरमा प्रमुख अतिथि वीरगंज कपडा बैंकका संरक्षक समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले भने कि मानवीय सेवाको काममा हामी सबैले मिलेर हातेमालो गर्नुपर्छ र मानवतालाई बलियो बनाउनुपर्छ। गरिब-दुःखी र असहाय मानिसहरूको सेवा-सहयोगमा हामी सबैले सक्दो दान-सहयोग गर्नुपर्छ, किनभने यसले मानवता बलियो हुन्छ। सेवा नै सबैभन्दा ठूलो धर्म हो। उनले मानवताको मर्म अनुसार सेवा-सहयोग गर्न अपिल गरे।
कार्यक्रममा लेडिज सर्कल ३ की अध्यक्ष निधि जाटियाले भनिन् सेवा नै धर्म हो भन्दै हामीले अस्पताल, स्कुल, सार्वजनिक स्थलमा विभिन्न कार्यक्रमको आयोजना गरी दीनदुःखी असहायको सेवा सहयोग गर्दै आइरहेका छौं र वीरगंज कपडा बैंकको निःशुल्क कपडा वितरण सेवा देखेर उहाँहरूसँग मिलेर आज यहाँ आएर बालबालिका, महिला, युवा, अग्रजहरूको प्रत्यक्ष सेवा गरेर हामीलाई धेरै खुसी लागिरहेको छ भन्दै यहाँसम्म ल्याउन र सँगै मिलेर सेवा गर्ने अवसरको व्यवस्थापनका लागि कपडा बैंकको खुलेर प्रशंसा गर्दै आभार व्यक्त गरिन् र आगामी दिनमा पनि यो साथ कायम रहोस्, सेवा जारी रहोस् भन्ने प्रतिबद्धता जनाइन्।
यस अवसरमा बैंकका अध्यक्ष लालबाबु सिंहले भने कि 'कोही नाङ्गो नरहोस्' भन्ने भावनालाई मूल मन्त्र बनाएर पछिल्लो ७ वर्षदेखि नयाँ-पुरानो कपडाको माध्यमबाट मानवीय सेवामा लागेको बैंकसँग मिलेर ग्रामीण इलाकामा आएर सेवा प्रदान गर्नका लागि सर्कल परिवार, बैंक परिवारसँगै स्थानीय सहयोगीहरूलाई हृदयदेखि आभार तथा धन्यवाद दिए।